हर्कको प्रश्न- भत्किएका बस्ती र होल्डिङ सेन्टरमा प्रधानमन्त्री जानुभयो कि कार्यालयमै लुकी बस्नुभएको छ?
श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका सांसद हर्क साम्पाङले बालेन शाह नेतृत्वको रास्वपाको एकल सरकारका कार्यशैलीलाई लिएर प्रश्नैप्रश्न गरेका छन्।
उनले प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै सरकारका कार्यशैलीको विरोध गरेका हुन्।
‘गरिबका भत्किएका बस्ती र होल्डिङ सेन्टरमा प्रधानमन्त्री जानुभयो कि जानुभएको छैन। कि आफ्नै कार्यालयमा लुकीबस्नुभएको छ?,’ साम्पाङको प्रश्न छ।
यहाँ हामीले साम्पाङले प्रतिनिधि सभामा राखेका प्रश्नहरू राखेका छौं-
१. लिपुलेकमा भारतले नाका खोलेर चलाइराख्दा किन मौन छ यो सरकार? किन कूटनीतिक वार्ता गर्न सकेन। हस्ताक्षरबिना कूटनीतिक चिर्केटो नोटको भरमा लुकेर बसेको छ यो सरकार।
२. सरकारले नेपाली सेनालाई सीमा रक्षामा पठायो कि सुकुम्बासी बस्तीमा दादागिरी देखाउँदै बस्यो। सीमा बचाउन नसक्नु तर सेनाको दुरूपयोग गरेर गरिब जनताको बस्तीमा आतंक किन फैलाइयो? त्यसको जबाफ चाहिन्छ।
३. सुकुम्बासीलाई घरबारबिहीन बनाउने सरकार असफल भइसक्यो भन्ने हामीलाई महसुस भएको छ। सम्मानजनक बाँच्ने तथा आवासको हकका मौलिक अधिकार यो सरकारले उल्लंघन गरेको छ। संविधान मिच्ने सरकारले कुनै औचित्य हुन्छ र?
४. गरिबका भत्किएका बस्ती र होल्डिङ सेन्टरमा प्रधानमन्त्री जानुभयो कि जानुभएको छैन। कि आफ्नै कार्यालयमा लुकीबस्नुभएको छ? हामी उत्तर चाहन्छौं।
५. सरकारले थिति मिचेर अध्यादेश ल्यायो। संसद छल्नु भनेको जनमत नमान्नु होऽ लोकतन्त्र नमान्नु हो। विधि र थिति बसाउन किन सरकारले सकेन। सरकार लोकतन्त्र कमजोर बनाउने दिशामा छ।
