देवेन्द्र पौडेल, इलाम टाइम्स चुलाचुली/नवोदित साहित्यिक वाचनालय कतारको १५औं अधिवेशन सम्पन्न भएको छ ।

अधिवेशनसँगै आदिकवि भानुभक्त आचार्यको २०९औं जन्म जयन्ती, सातौं नवोदित कृति अवार्ड, स्रष्टा सम्मान तथा बधाई कार्यक्रमसहित अनेसास नवोदितको १३६औं वाचन डबलीअन्तर्गत विशेष रचना वाचन सम्पन्न भएको हो । गजलकार परीविक्रमद्वारा लिखित गजल संग्रह अंकमालको विमोचनसहित सम्पन्न अधिवेशन वाचनालयका अध्यक्ष रूप रसाइलीको सभापतित्व तथा अनेसास कतार च्याप्टरका अध्यक्ष मणि पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

अधिवेशनमार्फत आगामी एक कार्यकालका लागि नारायण भण्डारी ‘निर्जल’को नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको छ । समितिको प्रथम उपाध्यक्षमा लीलानाथ घिमिरे, द्वितीय उपाध्यक्षमा सानु थपलिया, मोबाइल पुस्तकालय संयोजकमा सोम थापा, महासचिवमा शोभाराम ओली, सचिवमा शिव सुवेदी, कोषाध्यक्षमा धर्म सन्देश र सह-कोषाध्यक्षमा खिम पुन चयन भएका छन् । कार्यसमितिका सदस्यहरूमा सुरेश परियार ‘आभास’, अनवर अली र विनोद अधिकारी रहेका छन् । निर्वाचित कार्यसमितिलाई निर्वाचन समितिका संयोजक पत्रकार महासंघ कतार शाखाका कार्यवाहक अध्यक्ष दिल श्रेष्ठले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए ।

नारायण भण्डारीले स्वागत मन्तव्य राखेको अधिवेशनमा सानु थपलियाले भानुभक्त आचार्यको जीवनी वाचन गरेका थिए । अधिवेशनमा कतारमा स्थापित थुप्रै संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको आतिथ्यता तथा शुभकामना मन्तव्य रहेको थियो । आफ्नो शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि पौडेलले पृथक तवरले कार्यक्रम सम्पन्न गरेकोमा गर्व लागेको बताए । खुला सत्रको समापन सभापति रसाइलीले गरेका थिए भने सहजीकरण महासचिव सोम थापाले गरेका थिए ।

Facebook Comments Box