वार्षिक ५० करोड व्यभार थपिने गरी ढुवानी भाडा वृद्धि, शनिबार कार्यालय खोलेर माइन्युट गर्दै आयल निगम उच्च अधिकारी

कम्तिमा वार्षिक ५० करोड रुपैयाँ व्यभार थपिने गरी नेपाल आयल निगमले पेट्रोलियम ट्याङकर ढुवानी व्यवसायीको ढुवानी भाडादर वृद्धि गरेको छ । शुक्रबार साँझ बसेको आयल निगमको संचालक समितिको बैठकले पाँच देखि सात प्रतिशतसम्म भाडा वृद्धि गर्ने निर्णय गरेको हो ।
नेपाल आयल निगम र समग्र पेट्रोलियम क्षेत्रलाई सुझाव दिन गठन भएका यसअघिको विभिन्न समितिहरुले भने पेट्रोलियम व्यवसायीलाई हाल दिँदै आएको भाडादर बढि भएको र घटाउन सुझाव दिँदै आएको थियो । यसरी वृद्धि गरिएको ढुवानी भाडादर पेट्रोलियम पदार्थको उपभोक्ता मूल्यमा जोडिने भएकाले वृद्धि भएको ढुवानी भाडादरको असर आयल निगमले निर्धारण गर्ने पेट्रोलियम पदार्थको मूल्यमा समेत देखिने छ ।
विभिन्न समितिले दिएको सुझावलाई लत्याउँदै आयल निगमले पेट्रोलियम व्यवसायीसँग मिलेर उनीहरुको निहित स्वार्थ पूर्तिका लागि ढुवानी भाडा वृद्धि गरेको हो । विभिन्न समितिले दिएको निर्देशनविपरित बढाइएको ढुवानी भाडादर बाहिर सार्वजनिक भएर विवाद हुने डरले आज शनिबार कार्यालय खोलेर शुक्रबार साँझ संचालक समतिले गरेको निर्णय कार्यान्वयनका लागि माइन्युट भइरहेकाे छ ।
संचालक समितिले गरेको निर्णय कार्यान्यवनका लागि माइन्युट तयार गर्न आयल निमगका कार्यकारी निर्देशक चण्डिका भट्ट सहितका उच्च अधिकारीहरु यतिबेला टेकुस्थित केन्द्रीय कार्यालयमा माइन्युट तयार गर्न खटिएका छन् ।
दुरगामी असर पार्ने निर्णयहरु गर्दा आयल निगमका उच्च अधिकारीहरुबिच मत विभाजन हुने गरे पनि कमिसन पाउने यस खालका निर्णय गर्दा आयल निगमका उच्च अधिकारीहरु एक जुट हुने गरेका छन् । त्यसैले शनिबार पनि आयल निगमका उच्च अधिकारीहरु सबै केन्द्रीय कार्यालयमा भेला भएर ढुवानी व्यवसायीहरुलाई कमिसन वृद्धि गरिदिने निर्णयमा हस्ताक्षर गरिदिन उपस्थित भएका छन् ।
तीन वर्ष अघि २०८९ कात्तिकमा पनि नेपाल आयल निगमले संचालक समितिबाट निर्णय गराउँदै ट्यांकर ढुवानी व्यवसायीको भाडादर वद्धि गरेको थियो । त्यतिबेला वार्षिक करिब ४४ करोड व्ययभार थपिने गरी ढुवानी भाडा बढाइएको थियो ।