साकफारा मधुमल्ला सडक खण्डको डि.पि.आर. संघिय संसदलाइ हस्तान्तरण, आवश्यक पहल गर्ने प्रतिवद्धता
देवेन्द्र पौडेल चुलाचुली / इलामको चुलाचुली गाउपालिकाले पालिकाको बहुप्रतिक्षित योजना मधुमल्ला साकफारा सडक खण्ड निर्माणका लागि बिस्तृत परियोजना प्रतिवेदन तयार गरि बजेट सुनिष्चितता का लागि औपचारिक पहल सुरु गरेको छ ।
गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले करिब १ अर्ब १० करोड रुपैयाँ लागत अनुमानसहितको डीपीआर मोरङ प्रतिनिधिसभा क्षेत्र नम्बर १ का सांसद सदस्य यज्ञमणी न्यौपाने र समानुपातिक सांसद तथा रास्वपा ले इलाम क्षेत्र नम्बर २ को जिम्मेवारी दिएकी सांसद रजनी श्रेष्ठ लाइ संयुक्त रुपमा शनिबार बुझाउँदै बहुवर्षीय बजेट विनियोजनको माग गरेका हुन् ।
उक्त सडकले पाँचथरको रविदेखि इलामको साकफारा–दारेगौंडा–फुङनाम–चुली हुँदै मोरङको मधुमल्ला, उर्लाबारी र दमकसम्म जोड्ने लक्ष्य राखिएको छ । करिब १९० वर्षदेखि प्रयोगमा रहेको ऐतिहासिक मार्गलाई आधुनिक सडकमा स्तरोन्नति गरिएमा पहाड–तराई आवागमन सहज हुनुका साथै दैनिक जनजीवन र व्यापारिक गतिविधिमा ठूलो सहजता आउने अपेक्षा गरिएको अध्यक्ष केरुङले बताए ।
डीपीआर हस्तान्तरण कार्यक्रममा अध्यक्ष केरुङसँगै सो सडक उपभोक्ता समितिका अध्यक्ष दीपक श्रेष्ठलगायत अन्य पदाधिकारीहरु समेतको सहभागिता रहेको थियो । कार्यक्रममा प्रतिनिधिसभा सदस्य न्यौपानेले उक्त परियोजनालाई बहुवर्षीय योजनामा समेटेर बजेट सुनिश्चित गर्न पहल गर्ने प्रतिबद्धता जनाएका छन ।
गाउँपालिका अध्यक्ष केरुङले विगतमा प्रस्तुत गरिएका अधिकांश योजनामा बजेट सुनिश्चित गर्न सफल भएको दाबी गर्दै यसपटक पनि सोही ढंगले काम अघि बढ्ने विश्वास व्यक्त गरे । ‘यो सडक केवल पूर्वाधार होइन, पहाड र तराई जोड्ने जीवनरेखा हो । बहुवर्षीय बजेटमार्फत यसलाई कार्यान्वयनमा ल्याउनेमा हामी विश्वस्त छौँ,’ उनले भने ।
गत वर्षको बजेट विनियोजनमा इलाम क्षेत्र नं. २ का संघीय सांसद सुहाङ नेम्बाङ तथा कोशी प्रदेशका अर्थमन्त्री रामबहादुर मगर रानासँगको सहकार्यमा चुलाचुलीका विभिन्न साना–ठूला योजनामा बजेट पार्न सफल भएको उदाहरण दिँदै अध्यक्ष केरुङले विकासका कामलाई निरन्तरता दिने बताएका छन् ।
स्थानीय युवाहरूले समेत उक्त पहलप्रति सकारात्मक प्रतिक्रिया दिएका छन् । स्थानीय युवा जेन्जी मिलन राईले भने, ‘अध्यक्ष केरुङले अघि सारेको योजना हाम्रो लागि निकै महत्वपूर्ण छ, हामी उहाँको कामप्रति धन्यवाद व्यक्त गर्छौँ ।’
स्थानीयवासीहरूका अनुसार सडक निर्माण सम्पन्न भएमा क्षेत्रीय आर्थिक गतिविधि, कृषि उत्पादनको बजार पहुँच, तथा स्वास्थ्य–शिक्षा सेवामा पहुँच उल्लेख्य रूपमा सुधार हुने अपेक्षा गरिएको छ । अब संघीय र प्रदेश सरकारबाट बजेट विनियोजन भएपछि परियोजना कार्यान्वयनतर्फ अघि बढ्ने छ।
सडक पुर्वाधार मा निक्कै पछाडी रहेको चुलाचुली गाउपालिका को ६ नम्बर वडाका बासिन्दा का लागि गाउपालिका ले छुट्टै एम्बुलेन्स को ब्यवस्था गरेतापनी सडक समस्या ले गर्दा सन्चालन मा कठिनाइ आइरहेको छ भनें चुलाचुली गाउपालिकामा इलाका प्रशासन कार्यालय र मालपोत तथा नापी कार्यालय समेत सन्चालन मा ल्याउनुपर्ने स्थानियहरुको व्यापक माग आइरहेको छ ।
