मछिन्द्रले चुम्यो तेस्रो इलाम गोल्डकप उपाधि
डिफेन्डिङ च्याम्पियन न्यरोड टिम (एनआरटी)लाई पराजित गर्दै मछिन्द्र फुटबल क्लब काठमाडौंले इलाम गोल्डकपको तेस्रो संस्करणको उपाधि जितेको छ । आज भएको फाइनल खेलमा एनआरटीलाई २-० गोल अन्तरले पराजित गर्दै मछिन्द्रले एनआरटीको उपाधिमा ह्याट्रिक गर्ने लक्ष्यलाई ब्रेक लगाएको छ ।
दुवै टिमले राष्ट्रिय तथा विभिन्न उमेरसमूहका खेलाडी खेलाएका थिए । पहिलो हाफमा दुवै टिमले गोलरहित बराबरी खेले । दुवै टिमले पाएका अवसर सदुपयोग गर्न नसक्दा पहिलो हाफमा दुवै टिमले गोल गर्न सकेनन । दोस्रो हाफमा मछिन्द्रले खेलमा पकड जमायो ।
दोस्रो हाफको दोस्रो मिनेटमा मछिन्द्रका सौरभ सुब्बाले गोल गर्दै आफ्नो टिमलाई सुरुआती अग्रता दिलाए । सौरभले गोल गरेको ३ मिनेटमै पुनः मछिन्द्रले अर्को गोल गरेको थियो । मछिन्द्रका मिलन चाम्लिङले गोल गर्दै दोब्बरको अग्रता बनाएसँगै मछिन्द्रले इलाम गोल्डकपको तेस्रो संस्करणको उपाधि जितेको हो । उपाधि जितेसँगै मछिन्द्र फुटबल क्लबले नगद १० लाख, आकर्षक ट्रफी, मेडल र प्रमाणपत्र पायो । उपविजेता एनआरटीले नगद ५ लाखमा चित्त बुझायो ।
फाइनल खेलको म्यान अफ द म्याच मछिन्द्रका प्रदीप बुढाथोकी घोषित भए । उनले नगद ८ हजार १ सय प्राप्त गरे । उत्कृष्ट गोलरक्षक मछिन्द्रका प्रदीप भण्डारी, उत्कृष्ट डिफेन्डर एनआरटीका आशिष गुरुङ, उत्कृष्ट मिडफिल्डर मछिन्द्रका युवराज ढकाल, सर्वाधिक गोलकर्ता मछिन्द्रका मिलन चाम्लिङ, उत्कृष्ट प्रशिक्षकमा मछिन्द्रका प्रवेश कटवाल घोषित भए ।
उनीहरूले जनही १५ हजार रुपैयाँ र ट्रफी प्राप्त गरे । उदीयमान खेलाडी रेडहर्सका खेलाडी विवेक सुनाम भए । उनले नगद २५ हजार र ट्रफी प्राप्त गरे । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी मछिन्द्रका सनिस श्रेष्ठ घोषित भए । उनले नगद ५१ हजार र ट्रफी प्राप्त गरे । रेडहर्स फुटबल क्लबको आयोजनामा वैशाख ५ बाट सञ्चालन भएको तेस्रो संस्करणको इलाम गोल्डकपमा ८ टिम सहभागी थिए । पालिका पेज बाट साभार
