Gen-z युवा पुस्ताको नजरबाट एक चिन्तन आजको विश्व राजनीति परिवेश अस्थिरता, द्वन्द्व र अनिश्चितताले भरिएको छ। शक्ति राष्ट्रहरूबीचको प्रतिस्पर्धा, युद्ध, आर्थिक दबाब र लोकतान्त्रिक संस्थाहरूमाथिको अविश्वासले विश्व व्यवस्था नै दबाबमा छ। यस्तो विश्व परिदृश्यको प्रभाव नेपालजस्तो सानो, भूराजनीतिक रूपमा संवेदनशील र आन्तरिक रूपमा संक्रमणमा रहेको मुलुकमा गहिरो रूपमा देखिनु स्वाभाविक हो। तर नेपालको आजको संकट केवल बाह्य कारणबाट आएको होइन। यो आन्तरिक अस्थिरता, कमजोर सुशासन र दिशाहीन राजनीतिक अभ्यासको परिणाम पनि हो। यही कारण आज देशले स्थिरता खोजिरहेको छ,सुशासन खोजिरहेको छ ,पारदर्शिता खोजिरहेको छ, भ्रष्टचार प्रति शुन्य सहनशीलता खोजिरहेको छ , विकास, समृद्धि र समुन्नत नेपाल खोजिरहेको छ , सबैभन्दा महत्त्वपूर्ण रूपमा त ,युवा पुस्ताले आफ्नो भविष्य खोजिरहेको छ। युवाको बेचैनी,रोजगारीभन्दा अगाडिको प्रश्न आजको युवा केवल रोजगारीको प्रश्नले मात्र चिन्तित छैन। उसले अझ गहिरो प्रश्न गरिरहेको छ “यो देशमा मेरो भविष्य छ कि छैन?” “मेरो मेहनत यहीँ अर्थपूर्ण हुन्छ कि परदेश नै अन्तिम विकल्प हो?” जब राज्यले स्पष्ट दिशा दिन सक्दैन, जब संस्थाहरू कमजोर देखिन्छन्, तब युवा पुस्ता स्वाभाविक रूपमा निराश हुन्छ। यही निराशा कहिलेकाहीँ उत्तेजनामा बदलिन्छ। जब युवाको ऊर्जा दिशाहीन हुन्छ, तब त्यो परिवर्तनको शक्ति होइन, अस्थिरताको कारण बन्न सक्छ। चुनाव, लोकतन्त्र र पहिचानको प्रश्न लोकतन्त्रमा चुनाव केवल सत्ता हस्तान्तरणको प्रक्रिया होइन। यो नागरिकको पहिचान पुष्टि गर्ने आधार हो। चुनाव कमजोर भयो भने लोकतन्त्र कमजोर हुन्छ, र लोकतन्त्र कमजोर हुँदा नागरिकको भूमिका पनि कमजोर बन्छ। यदि चुनाव सर्छ वा अनिश्चित बन्छ भने देश केवल प्रशासनिक संकटमा पर्दैन, त्यो राजनीतिक वैधताको संकटमा पर्छ। यस्तो अवस्थामा समाजले विकल्प खोज्न थाल्छ र ती विकल्प सधैं सुरक्षित हुँदैनन् । त्यसो भएको हुँदा आज नेपालको सन्दर्भमा एउटा संवेदनशील तर आवश्यक बहस अघि आएको छ र स्वाभाविक पनि हो यदि लोकतान्त्रिक प्रक्रिया असफल भयो भने के विकल्प बाँकी रहन्छ? यहाँ एउटा कुरा स्पष्ट छ , बाह्य हस्तक्षेप नेपालको लागि सबैभन्दा खतरनाक अवस्था हुनेछ। बाहिरबाट निर्देशित निर्णयले राष्ट्रिय स्वाधीनता, आत्मसम्मान र भविष्यलाई कमजोर बनाउँछ। त्यसैले कतिपय नागरिकले यस्तो तर्क गर्छन्,यदि अवस्था अत्यन्तै बिग्रियो भने, बाहिरको हस्तक्षेपभन्दा आन्तरिक विकल्प कम जोखिमपूर्ण हुन सक्छ। त्यसो भएको हुँदा राज संस्था नै अन्तिम विकल्प भन्दा फरक नपर्ला राजसंस्थाको बहस यही सन्दर्भमा उठिरहेको छ। यो बहस कुनै प्राथमिक समाधानको प्रस्ताव होइन, लोकतान्त्रिक व्यवस्था असफल हुँदा देखिन सक्ने परिणामको चर्चा मात्र हो। लोकतान्त्रिक प्रणाली सफल भयो भने न यो बहस आवश्यक रहन्छ, न विकल्पको प्रश्न उठ्छ। भदौ २३/२४ पछि देखिएको जनचेतना विशेषत, युवामा केन्द्रित छ। त्यो आन्दोलन केवल आक्रोश थिएन, त्यो प्रणाली सुधारको माग थियो। युवाले स्पष्ट सन्देश दिएका छन् ,अब पुरानै ढर्रा, पुरानै अस्थिरता र गैरजवाफदेही राजनीति स्वीकार्य छैन। तर इतिहासले देखाएको छ,आक्रोशले मात्र परिवर्तन टिकाउ हुँदैन। परिवर्तनलाई संस्थागत गर्न राजनीतिक परिपक्वता, वैचारिक स्पष्टता र अनुभव भएको संरचना चाहिन्छ। लोकतान्त्रिक धार, इतिहास र वर्तमानको संक्रमण यही सन्दर्भमा नेपालको लोकतान्त्रिक इतिहासलाई हेर्नु आवश्यक छ। राजनीतिक स्वतन्त्रता, बहुदलीय व्यवस्था र नागरिक अधिकारको यात्रामा लामो बलिदान, संघर्ष र निरन्तरता देखिन्छ। ती संघर्षहरू केवल सत्ता प्राप्तिका लागि थिएनन्, नागरिकलाई राज्यको केन्द्रमा राख्ने सोचका लागि थिए। समयसँगै राजनीति परिवर्तन नहुने हो भने त्यो इतिहासमै सीमित हुन्छ। तर पछिल्ला वर्षहरूमा देखिएको पुस्तान्तरण, आन्तरिक बहस र नेतृत्वमा देखिएको युवा सहभागिताले लोकतान्त्रिक धारभित्रै परिवर्तनको संकेत देखाएको छ। अनुभवी संरचना र नयाँ पुस्ताको ऊर्जा एकै ठाउँमा भेटिन थालेको अवस्था आजको राजनीति बुझ्न महत्त्वपूर्ण संकेत हो। युवाका लागि यहाँ महत्त्वपूर्ण कुरा दलको नाममा समिति नभइ, संस्थागत क्षमता, लोकतान्त्रिक संस्कार र सुधारको सम्भावना हो। अध्ययन गरेर हेर्दा, यही आधारमा देशलाई स्थिर र सही दिशातर्फ लैजाने सम्भावना लोकतान्त्रिक धारभित्र नै बढी देखिन्छ। त्यसो भएको हुँदा यसको अर्थ लोकतन्त्र प्रति प्रतिबद्ध र लोकतान्त्रिक शक्तिहरू नै विकल्प भन्दा फरक नपर्ला त्यसैले उत्तेजनाबाट होइन, विवेकबाट भविष्य निर्माण आजको सबैभन्दा ठूलो चुनौती उत्तेजना हो ,घृणा, डर र भ्रमबाट सिर्जित उत्तेजना। सामाजिक सञ्जाल र अतिरञ्जित नाराले युवालाई छिटो आकर्षित गर्न सक्छ, तर इतिहासले देखाएको छ,उत्तेजनाबाट आएको परिवर्तन दीर्घकालीन हुँदैन। युवासमक्ष आजको आग्रह यही हो भीडभन्दा अघि सोच्नुस्। नाराभन्दा अघि नीति हेर्नुस्। र आक्रोशभन्दा अघि भविष्य कल्पना गर्नुस्। आजको नेपालले युवाबाट ऊर्जा मात्र होइन, विवेक पनि अपेक्षा गरेको छ। यो समय भत्काउने होइन, सुधार्ने हो। यो समय अस्थिर विकल्पतर्फ दौडिने होइन, लोकतन्त्रलाई सफल बनाउने हो। यदि लोकतन्त्र बलियो भयो भने बाह्य हस्तक्षेपको खतरा स्वतः घट्नेछ, पहिचान सुरक्षित हुनेछ, र युवाले यही देशमा भविष्य देख्न थाल्नेछन्। अन्तत नेपालको भोलि आजको निर्णयमा निर्भर छ। र त्यो निर्णय अध्ययन, विवेक र जिम्मेवारीबाट निर्देशित भयो भने देश सही दिशातर्फ अघि बढ्नेछ। र यहाँहरु समक्ष म एउटा Gen-z युवा पुस्ताको तर्फबाट , देश ठूलो संकट को घेरा भित्र छ त्यसैले कुनै पनि उत्तेजनामा नआइकन, सव्य अध्ययनशील र जिम्मेवारीपूर्ण ढंगले आउने चुनावलाई सफल पार्न सम्पूर्ण मतदाताहरुलाई हार्दिक अनुरोध गर्दछु । तपाईहरुको पुजन बस्नेत चुलाचुली गा.पा -४ जय नेपाल

Facebook Comments Box