इलामको चुलाचुली-२ स्थित अमृत अंग्रेजी बोर्डिङ स्कूलको प्रस्तुतिमा तयार भएको वेब सिरिज ‘पहिलो क्रश’ सार्वजनिक भएको छ । वाहिङ प्रोडक्सनको अफिसियल युट्युब च्यानलमार्फत हरेक शनिबार साँझ ७:३० बजे यो सिरिज प्रदर्शन हुने भएको हो ।

नियमित पठनपाठनबाहेक विद्यार्थीहरूलाई प्रविधि, विज्ञान, कला र सिर्जनशील सीप सिक्ने अभ्यास गराउन विद्यालय बिदाको दिन पारेर वेब सिरिज निर्माण सुरु गरिएको स्कूलका संस्थापक प्रिन्सिपल तथा वाहिङ प्रोडक्सनका सञ्चालक सन्तोष राईले बताए ।

चुलाचुली गाउँपालिकाका सात संस्थागत विद्यालयमध्ये अमृत बोर्डिङले पढाइबाहेक व्यक्तित्व विकास र व्यावहारिक शिक्षाका लागि नाटक, नृत्य तथा खेलकुद कार्यशाला सञ्चालन गर्दै आएको छ ।

विद्यालयले गत वर्षको वसन्त पञ्चमीमा ‘बानी बेच्ने केटा’ नामक नाटक निर्माण तथा मञ्चन गरेको थियो । सोही नाटकमा आबद्ध विद्यार्थी निर्देशकहरूकै सक्रियतामा अहिले ‘पहिलो क्रश’ निर्माण भइरहेको छ ।

किशोरावस्थाको मनोविज्ञान, प्रेम र सम्बन्धको विषयमा केन्द्रित यस सिरिजमा खेमराज विश्वकर्मा, रेसिका खनाल, श्रेया श्रेष्ठ, प्रिन्स तामाङ, असिम लिम्बू, ज्योति माझी र ऐरन देवानले मुख्य अभिनय गरेका छन् ।

विद्यार्थीहरूको आइडिया र क्षमतालाई लेखन तथा निर्देशनमा चेतन आङथुपोले सहजीकरण गरिरहेका छन् । सिरिजलाई अनुप न्यौपानेले छायाङ्कन गरेका हुन् भने सम्पादन दिपेश मगरले गरेका छन् ।

Facebook Comments Box