चुलाचुलीमा लागू औषध दुर्व्यसनी विरुद्ध जनचेतना मुलक नाटक “नयाँ जीवन” को प्रदशनी सम्मन्न

दिनेश पौडेल ईलाम टाइम्स चुलाचुली। चुलाचुली भाषा, साहित्य, संगीत तथा पर्यटन प्रवर्दन समितिको आयोजनामा चुलाचुलीको सम्पुर्ण वडाहरूको विभिन्न स्थानहरूमा लागू औषध दुर्व्यषनी विरुद्धको जनचेतना मुलक नाटक “नयाँ जीवन” को प्रदर्शनी सम्पन्न भएको छ।

गत चैत १६ गते चुलाचुली-१ को कमलबाट प्रदर्शनी सुरू गरेको नाटकको समूहले सोही वडाको अन्य विभिन्न स्थानहरू सहित अन्य सम्पुर्ण वडाहरूमा सफल्ता पुर्वक प्रदर्शन सकेर चैत १९ गते पालिकाको प्राङ्गणमा समापन समारोह सहित अन्तिम प्रदर्शनी गरेको थियो।
नाटकमा पछिल्ला दिनहरूमा आफ्ना अभिभावकहरूको सामान्य गल्तीहरूमा कसरी युवा पुस्ताहरू गलत कृयाकलापहरूमा लागिरहेका छन् भनेर देखाउन खोजेको छ। लागू औषध जस्ता जघन्य अपराधिक कृयाकलापहरूमा संलग्न भइसके पछि त्यसले व्याक्ती, परिवार र समाजलाई कसरी विकृत बनाउछ, नाटकमा मजाले बुझ्न र देख्न सकिन्छ।

एउटा स्कुले विध्यार्थी आमाले गोल खेल्न जर्सी नकिनिदिएको झोकमा साथीहरूसंग बरालिन मात्रै थाल्दैन मन शान्त पार्ने बहानामा लागू औषध सेवन गर्न पुग्छ। कालान्तरमा त्यहि केटो आफूलाई पैसाको अभाव भए पछि मन्दिर जस्तो पवित्र स्थानमा चोरी गर्न पुग्छ। चोर्नु अपराध हो, अपराध गरे पछि जेल जानै पर्छ, त्यसले गर्दा कक्षा कै अव्वल विध्यार्थी असफल मात्रै हुदैन पढाइ मै पछाडी पर्छ।
जम्मा ३० मिनेटको नाटकले हाम्रै समयको युग बोलेको छ। छोटो नाटकले पनि धेरै दर्शकहरूलाई रून बाध्य पारेको छ।
विभिन्न स्थानहरूमा नाटक मञ्चन भईरहदा दर्शकहरूले आफुहरूले आँसु थाम्न नसकेको प्रतिकृया दिएका थिए।

नाटक चैत १६ देखि १९ गते सम्म चुलाचुलीको १२ स्थानमा प्रदर्शनी गरिएको थियो भने सोही नाटक १९ गते दमकमा पनि प्रदर्शनी गरिएको थियो।
जीवन बरालको कथामा मौसम राना राईले निर्देशन गरेको नाटकमा दमकको कदम थिएटर, शब्द थिएटर र चुलाचुली थिएटरका कलाकारहरूले अभिनय गरेका थिए।