भोली देखी चुलाचुलीमा ऐना पोखरी महोत्सव सुरु हुने
इलामको चुलाचुली गाउँपालिका ३ र ४ मा पर्ने ‘ऐना पोखरी’ मा फाल्गुण १ गते मङ्गलबार देखि महोत्सव आयोजना हुँदैछ ।
चुरे क्षेत्रमा पर्ने ऐना पोखरीमा आन्तरिक र बाह्य पर्यटक भित्र्याउन आयोजना गर्न लागिएको महोत्सवको सम्पूर्ण तयारी पूरा भएको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो । महोत्सव ७ फागुनसम्म सञ्चालन हुनेछ ।
‘पछिल्लो समय पर्यटकीय क्षेत्रको रुपमा विकास हुँदै गएको यस ऐना पोखरीलाई थप प्रचार प्रसार गरी पर्यटन प्रबर्द्धनमा सहयोग पुर्याउने उद्देश्यले महोत्सव आयोजनाको तयारी गरिएको छ’ आयोजक समितिका अध्यक्ष कैलास राईले भने, ‘सम्पूर्ण तयारीमा पूरा भएको छ ।’
भौगोलिक र जैविक विविधताको दृष्टिकोणले महत्वपूर्ण मानिएको त्यस क्षेत्रको पर्यटन प्रवर्द्धन गर्न महोत्सव आयोजना गर्न लागिएको चुलाचुली गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले बताए । ‘चुरे क्षेत्रमा संरक्षण गरिएको जैविक र पर्यावरणीय दृष्टिकोणले महत्वपूर्ण यस क्षेत्रको प्रचारप्रसार गरी पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो’ उनले भने ।
एक साता सञ्चालन हुने महोत्सवमा विभिन्न जातजातिका झाँकी प्रदर्शन, खेलकुद प्रतियोगिता, स्थानीय कला, संस्कृति, भेषभूषाको प्रदर्शनी, साँस्कृतिक कार्यक्रम, स्थानीय उत्पादनको प्रदर्शनीलगायतका कार्यक्रम गरिने अध्यक्ष राईले बताए । त्यसका लागि दुई दर्जनबढी स्टलहरु निर्माण भएका छन् । स्टलमा स्थानीय खाद्य, घरेलु उद्योगबाट निर्मित सामग्रीहरु राखिनेछन् ।
महोत्सवमा आउने पर्यटकहरुलाई रैथाने सेवाद चखाउने स्थानीयको तयारी छ । त्यस क्षेत्रमा उत्पादन हुने कोदोको ढिँडो, राटी, वाचिपा, केरा, सिमलको विभिन्न परिकारहरुको स्वाद चाख्न पाइने छ ।
चुरे वनको फेदीमा पर्ने ऐना पोखरीमा घुम्न र मनोरञ्जन लिनका लागि वातावरण शान्त छ । वरिपरि पहाडका डाँडा र हरियाली वनजङ्गलको बिचमा पर्ने त्यस क्षेत्र जैविक विविधता, प्राकृतिक सौन्दर्य र भोगोलिक सहजताले पर्यटकका लागि उपयुक्त छ । पछिल्लो समय त्यस क्षेत्रमा तस्बिर लिन, भिडियो बनाउन र पिकनिक खान आउनेको समेत भिड लाग्ने गरेको छ । nayabulanda.com