नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले झापा जिल्ला सहकारी संघका पदाधिकारीलाई कारबाही गर्ने चेतावनी दिएको छ ।  सहकारी संघका सचिव भवानीप्रसाद दंगाल र अध्यक्ष गणेश ढकालले साउन १० गते जारी विज्ञप्ति प्रतिगम्भीर ध्यानाकर्षण भएको भन्दै ‘विप्लव’ नेतृत्वको नेकपाले उल्टै विज्ञप्ति जारी गरी यस्तो चेतावनी दिएको हो । 

साउन १० गते झापा जिल्ला सहकारी सङ्घले प्रेस विज्ञप्ति जारी गर्दै नेपाल कम्युनिस्ट पार्टीको नाम नै किटान गरेर कर्मचारीलाई धम्की दिएको, तालाबन्दी गर्न खोजेको, कर्मचारीलाई मानसिक तनाव दिएको, अमर्यादित गतिविधि गरेको जस्ता आरोप लगाउँदै कानुन बमोजिम कारबाही गर्ने चेतावनी दिएको थियो ।

सहकारी संघको उक्त विज्ञप्तिको खण्डन गर्दै नेपाल कम्युनिस्ट पार्टी झापाका इन्चार्ज प्रशान्त सी र सचिव सञ्जय सीद्वारा हस्ताक्षर गरिएको प्रेस विज्ञप्ति जारी गरिएको छ । आफ्ना कर्तुतहरूलाई ढाकछोप गर्ने र जनता माथि शोषण र दमनको वातावरण बनाउने काम झापा जिल्ला सहकारी संघ भनिने संस्थाले गर्दै आइरहेको र सोही प्रकारको कामलाई पुनः दोहोर्‍याएको नेकपाको आरोप छ ।

जारी विज्ञप्तिमा भनिएको छ – “जनताको समस्या र संकटको अगाडि तुच्छ प्रतीत हुने यस्ता बकवास विज्ञप्तिको कुनै अर्थ नरहेको र यस्ता विज्ञप्तिमा जनताको सङ्कट समाधानको निम्ति अहोरात्र खटिरहेको नेपाल कम्युनिस्ट पार्टीको नाम नजोड्न विज्ञप्ति प्रस्तोता हरूलाई गम्भीर चेतावनी दिन चाहान्छौं ।”

देशमा यतिबेला वित्तीय सङ्कट रहेको र नागरिकहरूको जीवन आक्रान्त बनेको बेला सहकारी संस्थाको नाममा आर्थिक लुटपाट गरिरहेका नंया अवतारका सुदखोरहरु जनताबाट पैसा उठाउँदै आफ्नो स्वार्थ अनुकूल विभिन्न क्षेत्रमा लगानी गरिरहेको र जनताको बचत फिर्ता समेत नगरी उल्टो भागिरहेको विज्ञप्तिमा उल्लेख छ। जारी विज्ञप्तिमा भनिएको छ( “जनताको पैसा माथि रजाइँ गरिरहेका सहकारी सञ्चालकहरू र संस्थाहरूको हर्कत उपर कुनै नियमन छैन । सहकारी सिद्धान्तको धज्जी उडाएर नव सुदखोरको रुपमा उदाएका सहकारी साहुहरूले जनताको बिचमा उठेका सङ्कट र यसको समाधानको पाटो खोज्न जनताको सङ्कट समाधानको निम्ति प्रयत्नशील हाम्रो पार्टी सँग छलफल गर्नुको साटो कानुनको हबला दिँदै धम्कीपूर्ण विज्ञप्ति प्रकाशित गर्नुले सहकारी साहुहरूको विक्षिप्ततालाई उजागर गरेको छ ।”

झापा जिल्लामा यिनै सहकारी मिटरब्याजि, लघुवित्त र बैङ्कहरूको चर्को शोषणबाट जनताहरूको जीवन तहसनहस बनेको र उजाडिएको नेकपाले बताएको छ । न्यायको सम्पूर्ण ढोकाहरू ढक्ढक्यांउदै जनता केही आशा र अपेक्षा लिएर पार्टीमा आइपुग्ने स्थिति बनेको र जनताका अप्ठ्याराहरूलाई सहज बनाउन भूमिका खेल्नु र जनताको रक्षा गर्दै जनसेवामा लागिरहनु पार्टीको दायित्व रहेको नेकपाले बताएको छ ।

विज्ञप्तिमा अगाडि भनिएको छ – “हामी हाम्रो दायित्वमा स्पष्ट, दृढ र प्रतिबद्ध छौँ । सहकारी सङ्घले यसरी धम्कीपूर्ण विज्ञप्ति निकालेर नव सुदखोर साहुको रुपमा आफूलाई चित्रित गरेर बदनामी कमाउनु भन्दा समस्याहरू के हुन, काहाबाट उठे र यसको समाधान के हुन सक्छ भनेर सरोकारवाला सबै सँग छलफल गर्न सुझाव दिन चाहान्छौं । अन्तमा, कानुनको हबला दिँदै जनता र न्यायपूर्ण आन्दोलनमा खटिरहेको पार्टीलाई समेत धम्काउने अन्यायपूर्ण व्यवहारलाई कायम राख्ने हो भने यस्ता तुच्छ लुटेरा हर्कत विरुद्ध कारबाही सञ्चालन गरिने चेतावनी दिन चाहान्छौं ।

Facebook Comments Box