फिदिमका सबै सामुदायिक कुकुरलाई रेबिजबिरुद्ध खोप दिइने, संक्रमित क्षेत्रमा खटिए प्राविधिक
पाँचथरको फाल्गुनन्द गाउँपालिकाको रेबिज संक्रमित क्षेत्रमा विज्ञसहितको पशु चिकित्सक टोली खटाइएको छ। संक्रमण पुष्टि भएका बस्तीमा पुगेर टोलीले शुक्रबार र शनिबार अध्ययन, नमुना परीक्षण तथा किसान, स्वास्थ्यकर्मी र जनप्रतिनिधिसँग अन्तरक्रिया गरेको छ ।
भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र इलामका प्रमुख डा. राघवेन्द्र तिवारीको नेतृत्वमा शुक्रबार फाल्गुनन्द पुगेको टोलीमा पशुपन्छी तथा मत्स्य निर्देशनालयका पशु चिकित्सक पुरुषोत्तम पाण्डे, पशुरोग अन्वेषण प्रयोगशाला विराटनगरका डा. सरिलाल चौधरी, भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ताप्लेजुङका डा. रोशन दाहाल तथा भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाँचथरका निमित्त प्रमुख निरोजकुमार भट्टराई सहभागी थिए ।
टोलीले शुक्रबार फाल्गुनन्द गाउँपालिकाका–५, र ६ मा पुगेर संक्रमित क्षेत्रको स्थलगत अध्ययन गर्नुका साथै किसान, जनप्रतिनिधि र स्थानीयसँग छलफल गरेको थियो । टोलीले शनिबार सदरमुकाम फिदिममा जनप्रतिनिधि र सरोकारवालासँग अन्तरक्रिया गर्दै बजार क्षेत्रका सामुदायिक कुकुरमा ‘मास भ्याक्सिनेसन’ गर्न सुझाव दिएको हो । ‘सदरमुकाम क्षेत्रमा एउटै कुकुरले ५५ भन्दा धेरै सामुदायिक कुकुर, ३ जना मानिस र एक माउ भैंसीलाई टोकेर उक्त कुकुर मरेपछि गरिएको प्रारम्भिक परीक्षणमा रेबिज संक्रमण देखिएकाले मास भ्याक्सिनेसन गर्न सुझाएका छौं,’ डाक्टर राघवेन्द्र तिवारीले भने । सदरमुकाम क्षेत्रमा कुकुरको संख्या धेरै हुने भएकाले सामुदायिक कुकुरबाट संक्रमण फैलिने सम्भावना देखिएकाले सबैलाई एन्टिरेबिज भ्याक्सिन लगाउन आवश्यक भएको उनले बताए ।
अध्ययनका क्रममा परीक्षण गरिएका तथा यसअघि मरेका पशु र कुकुरमा रेबिज संक्रमण पुष्टि भइसकेकाले प्रभावित क्षेत्रका सम्पूर्ण पशुचौपायालाई एन्टिरेबिज खोप लगाउनुपर्ने निष्कर्ष टोलीको छ । टोलीका संयोजक डा. तिवारीका अनुसार पशु सेवा निर्देशनालयबाट पाँचथर जिल्लाका लागि दुई हजार डोज एन्टिरेबिज खोप प्राप्त भइसकेको छ । सोही खोप प्रभावित क्षेत्रमा लगाइन सुरु गरिएको छ । रेबिजका कारण फाल्गुनन्द गाउँपालिकामा मात्रै करिब ४० वटा पशुचौपायाको मृत्यु भइसकेको छ भने थप पशुमा संक्रमणका लक्षण देखिएका छन् ।
यता फिदिम नगरपालिकामा पनि रेबिजको जोखिम बढेको छ । एउटै संक्रमित कुकुरले एक घण्टाभित्र ५५ वटा कुकुर, तीन जना मानिस तथा केही घरपालुवा जनावरलाई टोकेको थियो । पछि उक्त कुकुरको परीक्षण गर्दा रेबिज संक्रमण पुष्टि भएको थियो ।
यसपटक फाल्गुनन्द गाउँपालिका र फिदिम नगरपालिकामा एकै समयमा ठूलो संख्यामा मानिस र पशु कुकुरको टोकाइमा परेपछि खोपको माग उल्लेख्य रूपमा बढेको चिकित्सकहरूको भनाइ छ । कुकुरले टोकेका व्यक्तिमात्र होइन, संक्रमित पशुको स्याहार–सुसारमा संलग्न किसानलाई समेत सावधानीस्वरूप एन्टिरेबिज खोप लगाउन लागिएको चिकित्सकहरूले जनाएका छन् ।
