‘अग्रगामी मोर्चा’ घोषणा कार्यक्रम : कसले के भने ?
जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले राज्यका शक्तिहरू एकै ठाउँमा केन्द्रित हुँदा मुलुकमा सर्वसत्तावाद र अधिनायकवाद मौलाएको टिप्पणी गरेका छन्।
शनिबार काठमाडौँमा आयोजित ‘अग्रगामी मोर्चा’ घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले वर्तमान राजनीतिक अवस्था र राज्य सञ्चालन पद्धतिप्रति गम्भीर चिन्ता व्यक्त गरेका हुन्।अध्यक्ष यादवले संवैधानिक निकाय र मन्त्रालयहरू स्वतन्त्र रूपमा काम गर्न नसकी निष्प्रभावी भएको दाबी गरे। विगतका जनआन्दोलन, मधेस जनविद्रोह तथा आदिवासी जनजाति र थारुलगायतका आन्दोलनबाट प्राप्त सङ्घीयता, समावेशिता, लोकतन्त्र, गणतन्त्र र धर्मनिरपेक्षताजस्ता उपलब्धिहरूमाथि राज्यकै तर्फबाट प्रहार भइरहेको उनको आरोप छ। ती उपलब्धिहरूको रक्षा गर्दै बाँकी अधिकार प्राप्तिका लागि नै मोर्चा निर्माण गरिएको उनले प्रस्ट पारे।
संविधान निर्माण प्रक्रियामाथि प्रश्न उठाउँदै पूर्वउपप्रधानमन्त्री यादवले विगतमा संविधानसभाबाट संविधान जारी नभई केही दलहरूले ‘संविधानको किताब’ मात्र पारित गराएको टिप्पणी गरे। हाल मुलुक संविधानभन्दा बाहिरबाट चलिरहेको जिकिर गर्दै उनले संविधान संशोधनमार्फत विभेद र असमानता अन्त्य गर्नुपर्नेमा जोड दिए। मुलुकमा सुशासनको अभाव, बढ्दो भ्रष्टाचार, कमजोर शान्तिसुरक्षा र जर्जर आर्थिक अवस्थाप्रति सङ्केत गर्दै उनले वैदेशिक ऋणको भारले अर्थतन्त्र थप सङ्कटमा परेको बताए।
