इलाममा ग्यास अभाव, मारमा उपभोक्ता
एक साता यता खाना पकाउने ग्यास अभाव भएपछि इलाम सदरमुकामसहित उत्तरी इलामका उपभोक्ता समस्यामा परेका छन् । ग्यास अभाव हुँदा इलाम सदरमुकाममा कोठा भाडा गरेर बस्दैआएका विद्यार्थीसहित सर्वसाधारण समस्यामा परेका छन् ।
मेची राजमार्गको माइखोला राजदुवालीमा सडक अवरुद्ध भएपछि करिब एक महिना यता इलाममा ग्यास अभाव हुँदै आएको उपभोक्ताको भनाइ छ । वैकल्पिक सडकबाट साना सवारीमा ग्यास आयात गरिएको भए पनि एक साता यता भने इलाममा ग्यास नआएको ग्यास बिक्रेताले बताएका छन् ।
‘अस्तिकै हप्ता खाली सिलिन्डर पसलमा बुझाएको छ, १५ दिन भइसक्यो अझै ग्यास छैन । हामी पढ्ने विद्यार्थीले होटलमा दैनिक खाना खान पनि सकिंदैन, अब के गर्ने होला ?’ सदरमुकाम बसेर पढ्ने सुमन तामाङले भन्नुुभयो, ‘अब घर जानुुको विकल्प भएन ।’
ग्यास अभावसँगै सदरमुकाममा पाइने तरकारी र फलफूल पनि महंङ्गो भएको छ । अहिले आलुु प्रतिकिलो ८० रुपियाँ, गोलभेडा प्रतिकिलो ८० रुपियाँ, प्याज प्रतिकिलो ९० रुपियाँ, भिन्डी प्रतिकिलो १६० रुपियाँ, करेला प्रतिकिलो ८० रुपियाँ छ । यस्तै आँप प्रतिकलो दुईसय ५०, स्याउ प्रतिकिलो ३२०, केरा दर्जनको १२० देखि १५० पर्न थालेको उपभोक्ताले बताएका छन् ।
सदरमुकाम जाने मुख्य मेची राजमार्ग एक महिना यता बन्द छ । वैकल्पिक सडकहरु पनि पानी पर्नासाथ बन्द हुनेगरेका छन् । सबैजसो सडक बन्द हुँदा गाउँबाट आउने तरकारी पनि कम आउने गरेको बिक्रेताको भनाइ छ ।
बिहीबार र आइतबार इलाम बजारमा हटिया लाग्ने भए पनि आइतबारको सार्वजनिक विदाले आइतबार हाट लाग्न कम भएको र गाउँबाट पर्याप्त तरकारी आउनै छाडेको बताइएको छ । बिहीबार आएको तरकारी अपुुग भएका कारण मूल्य पनि बढेको बताइएको छ ।
सदरमुकामसहित विल्याँटे, पुवाखोला, नेपालटार लगायत बजारमा अन्य दैनिक उपभोग्य वस्तुुको मूल्य बढेको छ । चामलमा प्रतिबोरा एकसय ५० देखि दुुईसय रुपियाँ बढेको छ । सूूर्यमुुखी खाने तेल प्रतिलिटर तीनसय पुुगेको छ । यस्तै, अन्य प्रायः सबैजसो उपभोग्य वस्तुुको मूल्य बढेको स्थानीय बिक्रेताले बताएका छन् ।
