सरकारी गाडी प्रयोग गर्न के छ नियम ?

४ साउन २०७४ मा गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई पत्र लेखी सरकारी सवारी साधन बिदाको दिन समेत चलाउनुपर्ने भएमा अनिवार्य सवारी पास लिनुपर्ने व्यवस्था कडाइका साथ लागु गर्न निर्देशन दिएको थियो ।
सरकारी सवारी सञ्चालनबारे जिल्ला प्रशासन कार्यालयहरूले आ–आफ्ना मापदण्ड बनाएका छन् । कार्यालयको कामको सिलसिलामा मात्र सरकारी गाडी प्रयोग गर्नुपर्ने, कार्यालयको अत्यावश्यक काम विना कार्यालय समय अगाडि र पछाडि सरकारी गाडी प्रयोग नगर्ने, सवारी साधन प्रयोग सम्बन्धी लगबुक राख्नुपर्ने लगायत नियम बनाएका छन् ।
त्यस्तै सार्वजनिक बिदाका दिन सरकारी सवारी साधन सञ्चालन नगर्ने र बिदाको दिनमा काम गर्नुपरेमा प्रमुख जिल्ला अधिकारीबाट अनुमति लिनुपर्ने व्यवस्था पनि प्रशासन कार्यालयहरूले गरेका छन् ।
कार्यालयको कामको सिलसिलामा जिल्ला बाहिर जानुपर्ने भए उद्देश्यसहित जिल्ला प्रशासन कार्यालयमा एक हप्ता अगावै अनुरोध गर्नुपर्ने र अनुरोध औचित्यपूर्ण देखिएमा प्रमुख जिल्ला अधिकारीबाट सवारी साधन सञ्चालन अनुमति प्रदान गर्ने व्यवस्था जिल्ला स्तरीय मापदण्डहरुमा छन् ।
सार्वजनिक बिदाको दिन अनुमति नलिई चलेका गाडीलाई जहाँ र जहिलेसुकै प्रहरीले रोक्ने अधिकार राख्छ । तर, विभिन्न ठाउँमा नागरिकस्तरबाट पनि यस्तो विकृतिमाथि निगरानी भइरहेको छ ।
गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराई पास नलिई सार्वजनिक बिदामा गाडी चलाएमा नियन्त्रणमा लिएर सम्बन्धित निकायमा बुझाउने नियम नै स्पष्ट र पर्याप्त रहेको बताउँछन् । ‘धेरै हदसम्म यो नियम प्रभावकारी छ, दुरुपयोग भएको हकमा प्रहरीले समातेर नियम अनुसार नै सम्बन्धित निकायमा बुझाउँछ’, उनले भने ।
रूपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे सरकारी गाडी व्यक्तिगत प्रयोजनमा प्रयोग नगर्ने, सार्वजनिक बिदामा विना पास नचलाउने जस्ता विषय नैतिकतासँग जोडिने बताउँछन् ।
सार्वजनिक पद धारण गरेकाहरूबाट नियम पालनाको अपेक्षा गरिने भन्दै उनले कर्मचारीको आचारसंहिताले पनि कार्यालयको कामभन्दा बाहेकको अवस्थामा सरकारी गाडी सुविधा लिनु जायज नहुने बताए ।
‘बिदाको दिनमा सेवा प्रवाह र कार्यसम्पादनका लागि सरकारी गाडी चलाउनुपर्ने भए रुट र समय मिलान गरेर जिल्ला प्रशासन कार्यालयबाट पास जारी हुन्छ’ उनी भन्छन्, ‘पास विना पटक–पटक सवारी चलाएमा सम्बन्धित कार्यालयले कारबाही पनि गर्न सक्छ ।’अनलाइन खबर बाट सभार