युवालाई उद्धमी बनाउँदै इलाम नगरपालिका
सन्तोष गिरी
१२ असार, चुलाचुली ( इलाम ) इलाम नगरपालिका ११ सोयाक बस्ने दीक्षा तामाङले केराको रेशाबाट आफ्नै घरमा बनाएको श्रृङ्गारका सामाग्रीहरु बिक्री भएर स्थानीय ठाउँमा मात्र नभइ बिराटनगरदेखि काठमाडौंसम्म पुग्छन् ।
यस्ता सामाग्री बनाउनु अघिसम्म घरमै गृहिणीको रुपमा मात्र सीमित भएकी उनलाई इलाम नगर कार्यपालिकाले केराको रेशाबाट श्रृङ्गार सामाग्री बनाउने तालिम उपलब्ध गराएपछि उध्यमी बनेकी हुन् । तालिमले आफ्नो क्षमता विकास भएको र उद्धमशिलतामा सहयोग पुगेको बताउने दीक्षा यहि कामबाट अहिले राम्रो आम्दानी गर्न थालेकी छिन् । तालिमबाट प्राप्त ज्ञानलाई भविष्यमा व्यवसायको रुपमा सञ्चालन गर्ने लक्ष्य रहेको उनले बताइन् । नगरपालिकाको सहयोग र वडा नं. ११ स्थित बाली कन्या कृषि सहकारी संस्थाले उपलब्ध गराएको मेशिनको प्रयोग गरेर दिक्षाले श्रृङ्गार सामाग्री बनाउँछिन् । विभिन्न मेला महोत्सवमा हातले बनाएको सामाग्रीको विशेष चर्चा र खपत हुने हुँदा यसबाट भविष्यमा राम्रो आम्दानी गर्न सकिने उनको सोच छ ।
इनपा ८ का प्रतिक कार्कीले भर्खरै स्नातक तहको अध्ययन सकेर घरबाटै डिजिटल मार्केटिङ गरिरहेका छन् । गत अर्थिक वर्षमा इलाम नपाले युवा लक्षित कार्यक्रमअन्तर्गत सञ्चालन गरेको १८ जना युवाहरुका लागि डिजिटल मार्केटिङ तालिममा सहभागी भएपछि उनले यो पेशा अपनाएका हुन् । प्रतिकले तालिमपश्चात् उत्कृष्ट पाँचको छनौटमा इन्टर्नसीप गरेर शुरु गरेको डिजिटल मार्केटिङको कामबाट महिनामा २० हजार रुपैयाँसम्म कमाइ गरिरहेका छन् । उनीसँगै तालिम लिने अरु कतिपय सहभागीले पनि डिजिटल मार्केटिङकै काम गरिरहेको र कतिपयले भविष्यमा गर्ने योजना बनाएको उनले बताए ।

इनपा १२ कि सनिसा लिम्बू आफैँले तयार गरेर महिनामा दुईवटा ढाकाका सारी बेच्छिन् । नपाले दिएको तीन महिने ढाका बुनाइसम्बन्धी तालिम लिएकी सनिसाले नपाबाट नै ५० प्रतिशत अनुदानमा उपलब्ध गराएको ढाका बुन्ने तानको प्रयोगबाट तयार गरेका सारी बेचेर महिनामा १६ देखि २० हजार रुपैयाँसम्म आम्दानी गर्दै आएको बताइन् । सनिसाले बेचेका ढाकाको सारीहरु देशको विभिन्न क्षेत्रमा पुग्ने गरेको उनी बताउँछिन् । घरमै बसेर घरको कामहरु सकेर दिउँसो फुर्सदको समयमा उनले ढाकाको सारी बुन्ने र बिहान बेलुका घरको काम गर्ने समय मिलाएकी छिन् । ‘यो तालिमभन्दा अगाडि घरको कामहरुले फुर्सद नै हुँदैन थियो । तालिमपश्चात् ढाका बुन्दै पनि घरको कामहरु भ्याएको नै छु’, उनले भनिन्, ‘कामले गर्दा समय मिलाउन पनि सजिलो भएको छ । फुर्सदको समयमा सारी बुन्दा पनि महिनामा २/३ वटा बेच्छु, पसलले एउटा साडीको सात हजार सम्ममा खरिद गर्छन् । घर खर्च चलेको छ । आफ्नो लागि आफैले रोजगारी सिर्जना गरेकी छु ।”
इलाम नपाबाटै सञ्चालित एक महिने सैलुन तालिममा सहभागी भएका वडा नं ७ का आनन्द कुमार ठाकुर यतिबेला इलाम बजारमा पसल सञ्चालन गरेर धमाधम कपाल काटिरहेका छन् । उनले नगरपालिकाबाट अनुदानमा प्राप्त गरेको ४० हजार रुपैयाँले पसल डेकोरेसन गरेर सजाएका छन् । सैलुन ब्यवसायबाटै महिनामा करिब ३० देखि ४० हजार रुपैयाँसम्म आम्दानी गरिरहेको उनको भनाई छ ।

दीक्षा, प्रतिक, सनिसा र आनन्द प्रतिनिधी पात्र मात्र हुन् । इलाम नगरपालिकाका १२ वटा वडाहरुमा धेरै युवा युवतीले नपाले सञ्चालन गरेका सीप विकास तालिममा सहभागी भएपछि यस्तै ब्यवसयिक प्रयास गरिरहेका छन् । कतिपयले ब्यवसाय शुरु गरिसकेका छन् त कतिपयले तयारी गरिरहेका छन् । यसले इलाम नगरपालिका पछिल्लो समय नागरिकलाई क्षमता विकासको तालिम प्रदान गर्दै नगरबासीलाई स्वरोजगार बनाउन निकै अग्रसर देखिएको जनाउँछ ।
नपाले गत आ.व. २०८१/८२ र चालु आ.व. २०८२/८३ मा युवाहरुलाई लक्षित गर्दै विभिन्न क्षेत्रमा क्षमता विकासको कार्यक्रमहरु सञ्चालन गरेको थियो । गत आ.व.मा १८ प्रकारका क्षमता विकास तथा सीपमूलक तालिम सम्पन्न गरिए । ती तालिममा एकसय ४७ जना महिलासहित तीन सय ६७ जना युवाले सम्बन्धित विषयमा तालिम लिएर दक्ष बनेका थिए । तालिममा दलित समुदायका १९ जना, जनजाति समुदायका एकसय ७२ जना र अन्य समुदायका एकसय ७६ जना सहभागी रहेको कार्यालयको सहकारी शाखाका प्रमुख मदन गुरुङले जानकारी दिए ।
नगरपालिका अन्तर्गतकै उपप्रमुख उद्धमशिलता कार्यक्रममार्फत सञ्चालन भएको तीन महिने ढाका बुनाई तालिममा १२ जना महिलाको सहभगिता रहेको थियो । उनीहरुमध्ये पाँच जनाले अहिले ढाकाकै सामाग्री उत्पादन र बिक्रीको व्यवसाय चलाएर जिविकोपार्जन गरिरहेका छन् । इनपा ६ बाह्रबस्ती बस्ने भिमा खतिवडा हाल घरमै बुनेका ढाकाका सामान बिक्री गरेर महिनामा १५ हजार रुपैयाँसम्म कमाइ गरिरहेकी छिन् । पढाइ सँगसँगै पसल र ढाका बुनिरहेकी इनपा ९ सिलिखानकि रिना गुरुङ्ग भविष्यमा ढाका सँगै पसल जोडेर व्यवसाय गर्ने सोचमा छिन् । नगरपालिकाले दिएको ढाकाको सीप बिकास तालिमले रिनालाई उद्धमी बन्न प्रेरित गरेको उनको भनाई छ । ‘अहिले पढाईले गर्दा पसल र ढाका दुवैलाई त्यति समय दिन पाएको छुइन । अब पढाइ सकिएपछि दुबैलाई निरन्तर लैजाने चाहाना छ’, रिनाले भनिन्, ‘यस्तो तालिमले हामीजस्ता युवालाई स्वदेशमै रोजगारीको सिर्जना गर्न सजिलो बनाउने रहेछ ।’
इनपा १ साखेजुङकि सरिता चेम्जोङ पनि तालिम पश्चात् आफ्नो ५ जना परिवारको घर चलाईरहेकि छिन् । गाउँमा विकट रहेको र बजार टाढा भएकोले सोचेजस्तो आम्दानी गर्न नसके पनि घरको काम गर्दै फुर्सदमा ढाका बुनेर गुजारा चलाएको उनी बताउछिन् । नगरपालिकाले उपप्रमुख उध्यमी तथा स्वरोजगारी सिर्जना कार्यक्रममार्फत कृषक, कृषक समूह, सहकारी संस्थाले सञ्चालन गर्ने गरि १३ वटा उध्योगलाई चालु आ.व.मा १० लाख ७५ हजार रुपैयाँ सहयोग गरेको छ । त्यसमा वडा नं. १२ का कृष्ण कुमार कटुवाललाई मौरीपालनमा २५ हजार, योग्यकुमारी खत्रीलाई अर्गानिक चिया प्रशोधनमा एक लाख, मिना तामाङलाई ललिपप उध्योगमा २५ हजार उपलब्ध गराइएको छ । वडा नं. ११ को सिंहदेवी कृषि सहकारीलाई मौरी पालनमा एक लाख, वडा नं. ८ को सविना राईलाई सिलाइकटाइ तालिम केन्द्रका लागि २५ हजार, ८ कै सेतीदेवी बहुउद्धेश्यीय सहकारीलाई कृषि उपज उत्पादन संकलन र प्याकेजिङमा एक लाख उपलब्ध गराइएको हो ।
त्यस्तै वडा नं. ७ मा लिलादेवी मैनालीलाई सोलार सर्भिसमा ५० हजार, सुस्मा राईलाई ललिपप उध्योगमा एक लाख र कर्मचार युनियन बहुउद्धेश्यीय सहकारीलाई केराको रेशाबाट हस्तकला निर्माणमा एकलाख, वडा नं. ६ मा भीमबहादुर खड्कालाई राइस मिल सञ्चालनमा एक लाख ५० हजार तथा वडा नं. ४ मा दिलकुमार राईलाई चिया प्रशोधनमा एकलाख उपलब्ध गराइएको छ ।
वडा नं. २ का मनकुमार मुखिया र जीवन नेउपानेलाई चिया प्रशोधनमा एक/एक लाख दिइएको छ ।
नगरपालिकाले गत आवमै वडा नं. ८ मा ४१ जनालाई उध्यमशिलता विकास तालिम, १६ जनालाई ड्राइभिङ सीप विकास तालिम, १६ जनालाई मौरीपालन सीपविकास तालिम र १० जना मौरी पालक कृषकलाई २१ दिने रानी मौरी उत्पादन तालिम पनि प्रदान गर्नुका साथै १५ जनालाई मौरी घार वितरण गरेको थियो ।

त्यस्तै घरेलु उध्यम तथा स्वरोजगारीका लागि आवश्यक क्षमता विकास गर्ने उद्धेश्यले सिलाईकटाई, दूग्ध परिकार उत्पादन तथा वजारिकरण, नौमती बाजा बजाउने, रैथाने खाध्यान्नमा आधारित परिकार बनाउने, अचार बनाउने, केराको रेशाबाट विभिन्न श्रृङ्गार सामाग्री निर्माण तालिम, सैलुन सम्बन्धी, ढाका बुनाई, ड्राइभिङ, फ्रिज तथा वासिङ मेशिन उपकरण मर्मत गर्ने जस्ता सीपमूलक तालिम पनि सञ्चालन गरिएको सहकारी श्रम तथा रोजगार शाखाका प्रमुख मदन गुरुङले जानकारी दिए ।
नगरका ४० जना कृषकका लागि कृषि तथा पशुपक्षीसम्बन्धी तालिम र ४० जनालाई सय दिने प्लम्बर तथा इलेक्ट्रिसियन तालिम, पोटर गाइड तालिम, कम्प्युटर ग्राफिक डिजाइन तालिम पनि प्रदान गरिएको उनले बताए ।यसरी नगरले सञ्चालन गरेका सिपमूलक तालिम तथा उध्यम प्रबर्धन कार्यक्रमहरुका कारण नगरका धेरै बेरोजगार युवाहरु रोजगार बनेको र उनीहरु ब्यवसियकतातर्फ उन्मुख भएको इलाम नगरपालिकाकी उपप्रमुख बिष्णुकुमारी दाहालले बताइन् ।
‘नगरपालिकाको काम नै नगरभित्र रहेका बेरोजगार युवालाई सीप प्रदान गरेर स्वरोजगार बनाउनु हो’, उपप्रमुख दाहालले भनिन्, ‘हामीले त्यसै गरेका छौँ । कुन ठाउँमा के को सम्भावना छ, त्यहीअनुसार सीप दिने र ब्यवसिय बनाउने गरि काम गरिरहेका छौँ । धेरै युवा ब्यवसायिक बनिसकेका छन् ।’
