राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी महाधिवेशनका लागि करिब चार करोड रुपैयाँ खर्च हुने अनुमान गरेको छ ।

बिहीबार पार्टीको सचिवालय बैठकको निर्णय सार्वजनिक गर्दै महामन्त्री कविन्द्र बुर्लाकोटीले उक्त जानकारी दिनुभएको हो । उहाँका अनुसार महाधिवेशनको खर्च प्रतिनिधिबाट उठाइने दर्ता शुल्क तथा पार्टीका सदस्य र शुभेच्छुकहरूबाट प्राप्त हुने सहयोग नै मुख्य स्रोत हुनेछ । महाधिवेशन व्यवस्थापनका लागि आवश्यक सेवा तथा सामग्री उपलब्ध गराउने प्रदायक संस्थाहरूसँग सहुलियतका विषयमा छलफल भइरहेको र कतिपय व्यवसायीले नाफा नलिई लागत मूल्यमै सेवा दिने प्रस्ताव गरेको उहाँको दाबी छ ।

महामन्त्री बुर्लाकोटीले भन्नुभयो, “हाम्रो महाधिवेशनमा करिब चार करोड रुपैयाँ खर्च हुने अनुमान छ । त्यसका लागि प्रतिनिधिहरूबाट दर्ता शुल्क उठाइनेछ भने बाँकी रकम पार्टीका सदस्य तथा शुभचिन्तकहरूबाट सङ्कलन हुनेछ । क्याटरिङ लगायतका सेवा प्रदायकहरूले नाफा कटाएर मात्र शुल्क लिने प्रस्ताव गरेका छन् । कार्यकर्ताको उत्साह हेर्दा खर्च सहजै जुट्ने देखिन्छ ।”

रास्वपाले महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन (ईभीएम) प्रयोग गरेर निर्वाचन गर्ने तयारी गरेको छ । यसका लागि आवश्यक प्रस्ताव (कोटेशन) र सम्झौताको प्रक्रिया अघि बढेको महामन्त्री बुर्लाकोटीले जानकारी दिनुभयो । विद्युतीय मेसिन प्रयोग गर्दा मतदान र मतगणना कार्य करिब ६ देखि ७ घण्टाभित्रै सम्पन्न गर्न सकिने, समय बचत हुने र प्रतिनिधिहरूको बसाइ खर्चसमेत घट्ने उहाँको भनाइ छ । महाधिवेशनको उद्घाटन समारोहमा अन्य राजनीतिक दलका प्रमुखहरूलाई शुभकामना मन्तव्यका लागि आमन्त्रण गरिने उहाँले बताउनुभयो ।

महाधिवेशनमा भाग लिनका लागि प्रतिनिधिहरूले आफ्नो साविकको पदअनुसारको लेबी अनिवार्य रूपमा तिरेको हुनुपर्ने व्यवस्था गरिएको छ । महाधिवेशनमा करिब दुई हजार ५०० देखि तीन हजार प्रतिनिधि सहभागी हुने अनुमान छ । प्रत्येक जिल्ला समितिले एक जना र प्रत्येक प्रदेश समितिले तीन जना पर्यवेक्षक पठाउन सक्नेछन् भने विदेशस्थित सम्पर्क समितिहरूबाट ३८ भन्दा बढी देशका १७० जना प्रतिनिधि सहभागी हुनेछन् ।

सचिवालय बैठकमा पार्टीको विधान संशोधन गरी केन्द्रीय समितिको आकार १५१ सदस्यीय बनाउने र प्रदेश समितिका सभापतिहरूलाई पदेन सदस्य रहने व्यवस्था गर्ने प्रस्ताव तयार गरिएको छ ।

अधिवेशनको समीक्षा र आचारसंहिता

बैठकमा सातै प्रदेशको अधिवेशनको समीक्षा गरिएको थियो । जसमध्ये मधेस प्रदेशको अधिवेशन पार्टीको केन्द्रीय निर्वाचन आयोगले हाललाई स्थगित गरेको छ भने बाँकी छ प्रदेशमा अधिवेशन सम्पन्न भइसकेका छन् । अधिवेशन हुन बाँकी रहेका केही जिल्लाहरूको हकमा अध्ययन गरी थप निर्णय लिइने महामन्त्री बुर्लाकोटीले बताउनुभयो ।

सचिवालय बैठकले पार्टीको निर्वाचन आचारसंहिता र अनुशासनभित्र रहेर गतिविधि सञ्चालन गर्न सदस्यहरूलाई निर्देशन दिएको छ । महाधिवेशनअघि आवश्यकताभन्दा बढी प्रचारप्रसार भएको पाइएकाले संयमित हुन आग्रह गरिएको छ । असार ६ गते साँझसम्म सम्पूर्ण तयारी पूरा गरी असार ७ गते चितवनमा महाधिवेशनको भव्य उद्घाटन गरिने उहाँले जानकारी दिनुभयो । 

Facebook Comments Box