इंग्ल्यान्डलाई हराउँदै साविक विजेता अर्जेन्टिना फाइनलमा
इंग्ल्यान्डमाथि रोमाञ्चक पुनरागमन गर्दै साविक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ को फाइनलमा पुगेको छ।
एटलान्टा स्टेडियममा भएको खेलमा इंग्ल्यान्डलाई २–१ ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा पुगेको हो।
निर्धारित समय सकिन पाँच मिनेट बाँकी रहँदासम्म १–० ले पछि परेको अर्जेन्टिनाका लागि एन्जो फर्नान्डेज र दोस्रो हाफमा मैदान प्रवेश गरेका लाउटारो मार्टिनेजले गोल गर्दै टोलीलाई अविस्मरणीय जित दिलाए।
खेलको ५५औं मिनेटमा इंग्ल्यान्डका एन्थोनी गोर्डनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर, अन्तिम समयमा इंग्ल्यान्डले अग्रता जोगाउन सकेन ।
८५औं मिनेटमा कप्तान लियोनल मेसीको पासमा फर्नान्डेलले डिबक्स बाहिरबाट गरेको प्रहार गोल हुँदा अर्जेन्टिना खेलमा फर्कियो। दोस्रो हाफको अतिरिक्त समयको दोस्रो मिनेटमा मेसीकै पासमा मार्टिनेजले हेड मार्फत् गोल गर्दै अर्जेन्टिनालाई २–१ को जित दिलाए।
अन्तर्राष्ट्रिय फुटबलका सबैभन्दा चर्चित प्रतिस्पर्धामध्ये एक मानिने अर्जेन्टिना–इंग्ल्यान्ड भिडन्तमा खेल सुरु हुनुअघि नै रंगशालाको माहोल निकै रोमाञ्चक बनेको थियो। दुवै टोलीका समर्थकहरूले एकअर्काको राष्ट्रिय गानलाई आफ्नो टोलीको समर्थनले दबाउने प्रयास गरेका थिए।
सन् २०२२ को विश्वविजेता अर्जेन्टिना लगातार दोस्रोपटक उपाधि जित्ने बाटोमा अगाडि बढेको छ। अब अर्जेन्टिनाले आइतबार न्यू जर्सीको इस्ट रदरफोर्डमा हुने विश्वकप फाइनलमा स्पेनसँग उपाधिका लागि प्रतिष्पर्धा गर्नेछ ।
