संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ गत शनिबार युवा संघ नेपालको कार्यक्रममा भाग लिन धरान पुगेका थिए । त्यहाँ उनले संविधान निर्माण र नेपालमा पछिल्लो समय चलिरहेको विद्वेषका विषयमा पनि आफ्ना धारणा राखेका थिए । उनले सबै जाति, धर्म, भाषा, संस्कृतिलाई एकताबद्ध राखेमा देशविरुद्ध हुने षड्यन्त्र पराजित हुने बताएका थिए । उनको त्यो कार्यक्रममा दिएको भाषण नै अन्तिम सार्वजनिक अभिव्यक्ति हुनपुग्यो ।

नेम्वाङ भदौ २३ गते धरानमा बोलेपछि सार्वजनिक कार्यक्रममा गएनन् । २४ गते बिहान प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिले गठन गरेको संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक टुंगो लगाउन बनेको उपसमितिको अनौपचारिक बैठकमा सहभागी भए । एमाले संसदीय दलका उपनेतासमेत रहेका उनले उक्त दिन दिउँसोभर पार्टी नेता तथा सञ्चारकर्मीहरूसँग सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा विविध विषयमा छलफल गरेका थिए । त्यसको भोलिपल्ट सोमबार भने उनी बिरामी सञ्चो नभएको भन्दै बालुवाटारस्थित घरमै आराम गर्ने भनी कार्यालय आएनन् । मंगलबार बिहान १ बजे भने उनको हृदयघातबाट निधन भयो ।

नेम्वाङले आफ्नो अन्तिम सार्वजनिक अभिव्यक्तिमा संविधान निर्माणदेखि मुलुकलाई आगामी दिनमा कसरी एकताबद्ध गरेर अघि बढ्ने भन्नेबारे युवाहरूलाई आह्वान गरेका थिए । जातिय राज्य माग्नेदेखि धार्मिक विषयमा समाजमा षड्यन्त्र भइरहेको हो कि भन्ने उनको आशंका थियो । गत मंसिर ४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा धर्मनिरपेक्ष राज्य घोषणा गर्ने संसद्को सभामुख भएको हुनाले भारतबाट आफूलाई पराजित गर्न भनी इलाममा मानिसहरू परिचालित भएको पनि उनले स्मरण गरेका थिए ।

Facebook Comments Box