राष्ट्रिय मानव अधिकार आयोगले बालबालिकाको पठनपाठनको अधिकारप्रति संवेदनशील बन्न सम्बन्धित पक्षसँग आग्रह गरेको छ ।

आयोगका प्रवक्ता टीकाराम पोखरेलले बिहीबार विज्ञप्ति जारी गर्दै शिक्षकहरुको आन्दोलनले विद्यालय बन्द भएकोप्रति ध्यानाकर्षण भएको जनाउँदै आफ्नो अधिकारको प्रयोग गर्दा अरुको अधिकारप्रति सचेत हुन आन्दोलनरत पक्षसँग आग्रह गरेको हो ।

‘आफ्नो अधिकारको प्रयोग गर्दा अरुको अधिकारप्रति सचेत हुन, मानव अधिकारको मूल्य र मान्यताको सम्मान गर्दै आफ्ना मागहरु राख्न, आफ्ना मागहरु पूरा गराउन विद्यालय बन्दबाहेकको विकल्प खोज्न, वार्ताको माध्यमबाट समस्याको समाधान गर्न र आन्दोलनमा हिंसात्मक अवस्था सिर्जना हुनसक्नेतर्फ सचेत हुन आयोग आन्दोलनरत पक्षलाई आग्रह गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘कानुन निर्माणमा सम्बन्धित पक्षसँग पर्याप्त छलफल तथा परामर्श गरी विद्यालय शिक्षासम्बन्धी कानुनलाई समयसांपेक्ष बनाउन एवम् नेपाल शिक्षक महासंघलगायत शिक्षक समुदायले उठाएका न्यायोचित मागहरुको सम्बोधन गर्न आयोग नेपाल सरकारलाई आग्रह गर्दछ ।’

विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा शिक्षकहरुको सरुवा, बढुवा, नियुक्ति, सेवा सुविधा, नियमनलगायतका विषयमा असन्तुष्टि व्यक्त गर्दै विभिन्न माग राखी नेपाल शिक्षक महासंघले बुधबारदेखि काठमाडौंकेन्द्रित आन्दोलन गरिरहेको छ ।

विद्यालयका शिक्षक/शिक्षिकाहरुले आफ्नो वृत्तिविकासका साथै संस्थागत हकहितका लागि माग राख्नु, विचार व्यक्त गर्नु, शान्तिपूर्ण प्रदर्शन गर्नु मानव अधिकारको मूल्य मान्यता अनुकूल नै भए पनि आफ्ना मागहरु सम्बोधन गराउन विद्यालय नै अनिश्चितकालीनरुपमा बन्द गरी पठनपाठनमा अवरुद्ध गर्नुले बालबालिकाको शान्तिपूर्ण वातावरणमा शिक्षा प्राप्त गर्ने अधिकारको उल्लंघन भएको आयोगको ठहर छ ।

Facebook Comments Box