स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको ठाडो हस्तक्षेप र व्यवस्थापकीय कमजोरीले स्वास्थ्य बीमा गिजोलिएको छ  । स्वास्थ्य बीमालाई असफल बनाउन स्वास्थ्य मन्त्रालय एकतिर लागिपरेको छ भने अर्कोतिर बोर्डको व्यवस्थापन गर्न नसक्दा स्वास्थ्य बीमा भद्रगोल अवस्थामा रहेको स्वास्थ्य बीमा बोर्डका पूर्वअध्यक्ष डा. सिनेन्द्र उप्रेतीको दावी छ । 

स्वास्थ्य बीमालाई असफल बनाउन लागि ठुलो समूह नै लागि परेको बोर्डका कर्मचारीहरू नै बताउँछन् ।  यही ३० असोजमा स्वास्थ्य बीमा बोर्डबाट पाँच सदस्यले सामूहिक राजीनामा दिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री तथा मन्त्रालय नै स्वास्थ्य बीमा कार्यक्रमलाई स्वायत्त बन्न नदिन लागि परेको उनीहरूको आरोप छ  । 

राजीनामा दिनेमा डा.सुरेश तिवारी, डा.तारा साह, चन्द्र थापा, टीका चापागाईँ र इन्द्रकला राई रहेका छन् । बोर्ड आठ महिनादेखि अध्यक्षविहीन रहेको अवस्थामा भएका अकारण कार्यकारी निर्देशक डा. दामोदर बसौलालाई निलम्बन गरिएको उनीहरूको आरोप छ । 

स्वास्थ्य मन्त्री बस्नेतले तीन महिनाका लागि स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशकलाई निलम्बन गरेका हुन् । सरकारले यही २४ असोजमा कार्यकारी निर्देशक डा. बसौलालाई निर्देशक पदमा राखिरहँदा प्रमाण नष्ट गर्न सक्ने र गैरजिम्मेवारपूर्ण काम कारबाहीले बोर्डलाई नोक्सानी गर्न सक्ने देखिएको हुँदा तीन महिनाका लागि कार्यकारी पदबाट निलम्बन गरिएको मन्त्रालयका उपसचिव कृष्ण थापाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

यस्तै, स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा.सेनेन्द्रराज उप्रेतीले दुई वर्ष कार्यकाल बाँकी हुँदै ७ महिना अघि राजीनामा दिएका थिए । ७ महिनादेखि बोर्ड अध्यक्षविहीन छ । ५ सदस्यले पनि राजीनामा दिएपछि अब बोर्डमा निमित्त कार्यकारी निर्देशक र अर्थ मन्त्रालयका प्रतिनिधि गरी दुई जना मात्र सदस्य छन् ।  

बीमा बोर्डको व्यवस्थापनमा क्षमताको ठुलो अभाव रहेको जिकिर गर्दै पूर्वअध्यक्ष उप्रेती भन्छन्, ‘कर्मचारीलाई निलम्बन गर्दा पाँच जना सदस्यले राजीनामा दिनु, मन्त्रालय र बोर्डबिच समन्वय छैन भन्ने सिधै प्रमाणित हुन्छ ।’

मन्त्रालयले कार्यकारी निर्देशकलाई निरन्तर राखिरहँदा स्वास्थ्य बीमा बोर्डलाई अझ हानी हुने भनी निलम्बन गरेपछि प्रमाणसहित प्रमाणित गर्नुपर्ने डा.उप्रेतीको धारणा छ । 

Facebook Comments Box