मण्डलाका सात निर्देशक हरु मा इलाम का अनिल सुब्बा छनौट
मण्डला थिएटरले दुई वर्षमा निर्माण गरिने नाटकहरूका सात निर्देशकको नाम घोषणा गरेको छ। सन् २०२४/२०२५ मा बन्न लागेका सात निर्देशकको नाम मण्डलाले घोषणा गरेको हो , जसमा इलाम चुलाचुली निवासी अनिल सुब्बा लाई पनि छनौट गरेको छ ।
मण्डलाले निर्देशक अनुप बराल, पशुपति राई, केदार श्रेष्ठ, नाजिर हुसेन, प्रविण खतिवडा, अनिल सुब्बा र किरण चाम्लिङ राईलाई छनोट गरेको छ। उनीहरू सबै मण्डलामा नाटक देखाइरहेका निर्देशक हुन्। अभिनेता नाजिर हुसेन मण्डला थिएटरको बोर्ड सदस्य पनि हुन्। बाँकी सबै बोर्डबाहिरका छन्।
निर्देशकहरूको नाटकको नाम र प्रदर्शन हुने मिति २० दिनपछि सार्वजनिक गरिने मण्डला थिएटरका सचिव तथा कलाकार विजय बरालले बताए।
‘निर्देशकको इच्छा र डिजाइन अनुसारका नाटक बन्नेछ। आर्थिक पाटो भने मण्डलाले नै व्यहोर्नेछ,’ उनले भने, ‘मण्डलाले हरेक वर्ष यस्तै नयाँ-नयाँ कामहरू गर्दै आएको छ। समूह मिलेर काम गर्दाको राम्रो नतिजा देखिएकाले त्यसलाई निरन्तरता दिन लागेको हो।’
मण्डलाले नाटक निर्देशकको संख्या सातबाट बढेर करिब १५ जनासम्म पुग्नसक्ने बरालले बताए। त्यसको छनोट भने अझै हुन बाँकी छ। समाचार श्रोत सेतो पाटी
