राउटेको नाम मा कमाउ धन्दा
जब राउटेहरूलाई प्रदर्शनीमा राखेर पैसा उठाइयोआफ्नै नियम, आफ्नै सत्ता र आफ्नै संस्कार छ। आधुनिक नेपाली समाजको विकासक्रमभन्दा धेरै टाढा, जंगललाई नै आफ्नो संसार मान्ने नेपालको एक मात्र जाती हो राउटे। नागरिकता नलिने, एउटै ठाउँमा स्थायीरूपमा जग बसाएर नबस्ने र जंगलका गिठा-भ्याकुर अनि काठका भाँडाकुँडासँग जीवन साट्ने यो समुदायको आफ्नै मौलिकता र स्वाभिमान छ। तर, पछिल्लो समय यही मौलिकता र सोझोपनको गलत प्रयोग गरिएको भन्दै आलोचना भइरहेको छ।
मोरङको मिक्लाजुङ गाउँपालिकामा सांस्कृतिक प्रवर्धन र हस्तकला बिक्रीको आवरणमा १९ जना राउटे समुदायका सदस्यहरूलाई प्रदर्शनीको पात्र बनाइएको छ। मेसेलुङ पर्यटन संस्थाले जेठ २ गतेदेखि ९ गतेसम्मका लागि आयोजना गरेको कार्यक्रममा सुदूरपश्चिम र कर्णालीका जंगलमा रमाउने राउटेहरूलाई मोरङको गर्मीमा ल्याएर राखियो।
उद्देश्य भनिएको थियो, ‘उनीहरूले बनाएका हस्तकलाका सामानको बिक्री र संस्कृति आदानप्रदान गर्ने।’ तर, पर्दापछाडिको दृश्य भने निकै फरक देखियो। उनीहरूलाई प्रदर्शनीमा राखेर प्रवेश शुल्क मात्रै दुई सय राखिएको विषयले मात्र विवाद भएन, उनीहरूलाई आपत्तिजनक गतिविधि गर्न लगाएको तथा राउटे समुदायको आफ्नो परम्परागत शैली र संस्कृतिलाई दुरुपयोग गरेको आरोपसमेत लागेको छ।
राउटे समुदायको मुख्य अभिभावकत्व लिँदै आएको दैलेखको गुराँस गाउँपालिकाले यस कार्यलाई मानव अधिकारको गम्भीर उल्लंघन र मानव ओसारपसार गरेको समेत आरोप लगाएको छ।
दैलेखको गुराँस गाउँपालिका अध्यक्ष टोपबहादुर बिसीले राउटे समुदाय गुराँस गाउँपालिकाका नागरिक भएको दाबी गर्दै उनीहरूको सम्पूर्ण सुरक्षा, पालनपोषण, भत्ता, स्वास्थ्य र शिक्षाको जिम्मेवारी स्थानीय सरकारको मातहत रहेको बताए। उनले उनीहरूलाई अनुमतिबिनै मिक्लाजुङ पुर्याइएको बताए।
मिक्लाजुङ पुर्याइएका राउटे समुदायका सदस्यहरू, विशेष गरी युवती र नानीहरूमाथि अत्यन्तै आपत्तिजनक र विकृतिजन्य गतिविधि भइरहेको सूचनाहरू बाहिर आएको भन्दै उनले आपत्ति जनाएका छन्। ‘मौलिक कला र संस्कृतिको सम्मान गर्नुको साटो कमाइ खाने भाँडो बनाइएको, आपत्तिजनक हर्कतहरू प्रदर्शन गरिएको र जबरजस्ती विवाहका लागि दबाब दिने जस्ता दुर्व्यवहार भइरहेको भिडियो बाहिर आएको छ,’ उनले भने, ‘अन्तर-पालिका सांस्कृतिक आदानप्रदानका नाममा सभ्य ढंगले काम गर्ने स्थापित मान्यता र कानुन हुँदाहुँदै स्थानीय सरकारलाई बाइपास गरेर गैरसरकारी संस्थाले निहित स्वार्थका लागि राउटे समुदायहरूको संवेदनशीलतामाथि खेलबाड गरेको छ।’
राउटेहरूले दैलेख, सुर्खेत, कालीकोट, अछाम, सल्यान र जाजरकोट क्षेत्रलाई आफ्नो मुख्य वासस्थान मान्दै आएका छन्।
जंगलका राजा भनिने यो रैथाने समुदायलाई हेर्नका लागि आयोजकले प्रतिव्यक्ति दुई सय रुपैयाँको प्रवेश शुल्क (टिकट) तोकेपछि स्थानीयस्तरमा यसको तीव्र विरोध भएको थियो। एउटा मानव समुदायलाई चिडियाखानाको जीवजस्तो पैसा उठाएर प्रदर्शनमा राखिएको भन्दै मानव अधिकारवादी र सरोकारवालाहरूले प्रश्न उठाउँदै आएका थिए।
विवाद यतिमा मात्रै सीमित थिएन, केही व्यक्तिहरूले राउटेहरूको व्यक्तिगत जीवन, उनीहरूको पारिवारिक झगडा र स्वभावमाथि ठेस पुग्ने गरी भिडियोहरू बनाएर सार्वजनिक गरिएको आरोप लाग्यो। संस्थाका अध्यक्ष खगेन्द्र मादेनले राउटेहरूलाई आर्थिकरूपमा सबल बनाउन र दान पेटिकामार्फत संकलित रकम उनीहरूलाई नै हस्तान्तरण गर्ने योजना सहित बोलाइएको बताए।
राउटे समुदाय हाल कर्णाली प्रदेशको दैलेख जिल्लास्थित गुराँस गाउँपालिकाअन्तर्गतका वन क्षेत्रमा बसोबास गर्दै आएका छन्। तिनीहरूको संरक्षण र रेखदेखको जिम्मा स्थानीय तहले नै गर्दै आएको छ।
मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले कार्यक्रम गर्न आयोजक संस्थाले जिल्ला प्रशासन कार्यालयबाट कार्यक्रमको सामान्य स्वीकृति लिएको भए तापनि राउटेहरूको मुख्य अभिभावक मानिने गुराँस गाउँपालिकासँग कुनै औपचारिक अनुमति नलिएको जानकारी दिए।
सुमन सुस्केराले यो समाचार नेपालखबरमा लेख्नुभएको छ ।
चौतर्फी आलोचनापछि जिल्ला प्रशासन कार्यालय मोरङले यसबारेमा चासो दिएको हो। प्रमुख जिल्ला अधिकारी कटेलले आयोजक समितिलाई तत्काल बोलाएर स्पष्टीकरण सोधिएको र राउटेहरूलाई प्रदर्शनमा राख्ने कार्य तत्काल बन्द गर्न निर्देशन दिएको बताए।
पैसा उठाएर मानिसको प्रदर्शनी गर्ने कार्य कानुनसम्मत नभएको ठहर गर्दै प्रशासनले कार्यक्रम रोक्न भनेको छ। प्रशासनको निर्देशनपछि मेसेलुङ पर्यटन संस्थाले आजै (बुधबार) ती १९ जना राउटे सदस्यहरूलाई ससम्मान खाना खुवाएर उनीहरूकै रैथाने थलो दैलेखतर्फ फिर्ता पठाउने भनिएको छ।
