स्काउटको लागू पदार्थ दुर्व्यसन बिरुद्ध सचेतना कार्यक्रम
इलामको चुलाचुली गाउँपालिका वडा नम्बर दुइको सभाहलमा हिजो जेष्ठ ७ गते स्थानीय स्काउट कार्यालय, चुलाचुलीको आयोजनामा “लागूपदार्थ दुर्व्यसन विरुद्ध सचेतना कार्यक्रम” सम्पन्न भएको छ।
कार्यक्रम स्थानीय स्काउट कार्यालय चुलाचुलीका प्रमुख आयुक्त खगेन्द्र निरौला को सभाध्यक्षता तथा चुलाचुली गाउँपालिकाका अध्यक्ष एवं स्थानीय स्काउटका प्रमुख संरक्षक राजेन्द्र केरूङ को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
कार्यक्रम दुई चरणमा सञ्चालन गरिएको थियो। पहिलो चरणमा औपचारिक उद्घाटन तथा दोस्रो चरणमा प्यानल छलफल आयोजना गरिएको थियो। कार्यक्रममा विभिन्न वडाका जनप्रतिनिधि, विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति (विव्यस) का प्रतिनिधि, अभिभावक, स्काउट दल तथा बाल क्लबका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
स्थानीय स्काउटकी सुशासन तथा वित्त आयुक्त निरूपा दहाल ले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सहजीकरण स्थानीय स्काउटका शैक्षिक पद्धति आयुक्त रूद्र प्रभात ले गर्नुभएको थियो।
कार्यक्रमका मुख्य प्यानलिस्टहरूमा राजेन्द्र केरूङ, शिक्षा शाखा प्रमुख टंकप्रसाद खरेल तथा प्रहरी हवल्दार दिपा रेग्मी रहनुभएको थियो।
छलफलका क्रममा उठाइएका विषयहरूलाई कानुनी तथा नीतिगत रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता गाउँपालिका अध्यक्ष राजेन्द्र केरूङले व्यक्त गर्नुभएको थियो। कार्यक्रममा सहभागीहरूले लागूपदार्थ दुर्व्यसन न्यूनीकरणका लागि विद्यालय, अभिभावक, स्थानीय सरकार, सुरक्षा निकाय तथा समुदायबीच सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए।
