११ वटा स्थानीय तहले अझै पेश गरेनन् बजेट
चालू आर्थिक वर्ष सुरु भएको साढे ४ महिना वितिसक्दा समेत केही स्थानीय तहले वार्षिक बजेट ल्याउन सकेका छैनन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको तथ्यांक अनुसार बिहीबार सम्म ११ वटा स्थानीय तहले बजेट ल्याउन नसकेका हुन् ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ अनुसार गाउँसभा तथा नगरसभामा पेस भएको बजेट असार मसान्तसभित्रमा पारित गरिसक्नुपर्ने हुन्छ ।
यसरी गाउँसभा तथा नगरसभामा पेस भएको तथा पारित भएको विवरण संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पोर्टलमा अद्यावधिक गराउनुपर्ने हुन्छ । तर, हालसम्म मधेश प्रदेशका ९ स्थानीय तह सहित विभिन्न ११ वटा पालिकाले वार्षिक बजेट ल्याएको विवरण मन्त्रालयलाई बुझाएका छैनन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको ‘स्थानीय तहको आर्थिक वर्ष ०८०/८१ को बजेट अपडेट’ विवरणअनुसार हालसम्म ७४२ पालिकाले मात्रै वार्षिक बजेट ल्याएको विवरण बुझाएका छन् ।
मन्त्रालयको विवरणअनुसार सबैभन्दा धेरै मधेश प्रदेशका ९ पालिकाले बजेट ल्याएको विवरण बुझाएका छैनन् । त्यस्तै, कोशी प्रदेशको एउटा र बागमती प्रदेशको एउटा पालिकाले यस्तो जानकारी मन्त्रालयलाई गराएका छैनन् ।
