सुर्यरत्न बचत तथा रिण सहकारी संस्थाको तेस्रो साधारण सभा सम्पन्न  गरेको छ । २०७८ सालबाट सुरु भएको संस्थाले तेस्रो साधारण सभामा आइपुग्दा ४० लाख बचत सङ्कलन गरेको बताएको छ  । जिल्ला भर कार्यक्षेत्र बनाउने उद्देश्यका साथ अघि बढेको संस्थाले हाल इलाम नगरपालिका कार्यक्षेत्र बनाएर बचत सङ्कलन गरिरहेको छ । संस्थाले आर्थिक वर्ष २०७९÷८० मा सात लाख ३० हजार को लगानीमा सुरु गरेर असार मसान्त सम्ममा ३० लाख पुर्‍याएको र हाल ४० लाख बचत सङ्कलन गरेको साधारण सभामा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ । 

संस्थाको सुरुमा ८८ जना शेयर सदस्य रहेकोमा हाल चार सय ६५ जना पुगेको र निरन्तर रूपमा थप गरिरहेको संस्थाका अध्यक्ष चापागाईँले बताए । संस्थाले दैनिक बचतमा सात प्रतिशत, मासिक बचतमा आठ प्रतिशत र बाल बचतमा नौ प्रतिशत ब्याजदरमा बचत सङ्कलन गर्ने जनाएको छ । त्यस्तै रिण लगानीमा वार्षिक १४ प्रतिशत र महिला उद्यमशीलता लाई प्रोत्साहन गर्ने उद्देश्यले १२ प्रतिशत ब्याजदरमा वार्षिक  लगानी गर्ने जनाएको छ । संस्थाको शेयर सदस्यको मृत्यु भएमा क्षतिपूर्ति स्वरूप पाँच हजार रुपैयाँ सहयोग गर्ने जनाएको छ । त्यस्तै २५ हजार न्यूनतम शेयर खरिद गर्ने शेयर सदस्यलाई उक्त रकम भन्दा कम लगानी गर्ने शेयर सदस्य भन्दा एक रुपैयाँ कम ब्याजदर रहने संस्थाले जनाएको छ । 

संस्थाको अध्यक्ष दीपेन्द्र चापागाईँको अध्यक्षता र संस्थाको परिकल्पनाकार इलाम क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य महेश बस्नेतको प्रमुख आतिथ्ययतामा साधारण सभा सम्पन्न भएको हो । कार्यक्रममा जिल्ला समन्वय समितिका नि वर्तमान प्रमुख गणेश बराल र इलाम नगरपालिका वडा नं. सातकी कार्यवाहक अध्यक्ष बसन्ती घतानीले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको स्वागत मन्तव्य संस्थाकी उपाध्यक्ष चित्रमाया गुरुङले राखिन भने संस्थाका सचिव प्रकाश घिमिरेले कार्यक्रम सञ्चालन गरेका थिए । सभाले सल्लाकार समिति समेत विस्तार गरेको छ । सन्दकपुर अनलाइन बाट साभार

Facebook Comments Box