इलामको फाकफोकथुम गाउँपालिका–५, लुम्देका विनोद राईले ‘द भ्वाइस अफ् नेपाल सिजन–५’को उपाधि जिते । गएराति भएको फाइनलमा तीन फाइनलिस्टलाई पछि पार्दै विनोद उपाधि चुम्न सफल भएका हुन् । 

जितसँगै उनले २० लाख रुपैयाँको पुरस्कार हात पारेका छन् । 

सयौं नेपाली संगीत प्रतिभाको ‘करिअर सपना’ र लाखौं संगीतप्रेमी नेपालीले नजर गरिरहेको ‘द भ्वाइस् अफ नेपाल सिजन–५’को विजेता बनेसँगै विनोदलाई सिंगो इलामबासीले बधाई र शुभकामना ओइराइरहेका छन् । 

पूर्वप्रधानमन्त्री झलनाथ खनालले इलामका प्रतिभा विनोदलाई बधाई र शुभकामना दिएका छन् । खनालले सामाजिक सञ्जालमा लेखेका छन्, ‘तपाइँ–हामी सबैको प्रयासबाट सफल हुनुभएकामा विनोद भाइ तपाइँलाई बधाई छ ।’ 

इलाम क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य महेश बस्नेतले पनि विनोदलाई बधाई र शुभकामना दिएका छन् । बस्नेतले भनेका छन्, ‘इलामले गायन प्रतिस्पर्धामा एकपटक राष्ट्रिय–अन्तर्राष्ट्रियस्तरसम्मकै ध्यान खिच्न सफल भएको छ, बधाई छ विनोदलाई ।’

गायनमा सयौं प्रतिस्पर्धीलाई उछिनेर उपाधि चुम्न सफल विनोद राईको सांगीतिक यात्रा र उचाई सहजै प्राप्त भएको होइन । जुनसुकै काममा अत्यन्त मेहनती विनोद गायनलाई आफ्नो सबैभन्दा ठूलो रुचि ठान्छन् । यो प्रतिस्पर्धाको ‘ब्लाइन्ड अडिसन’मा चारै ‘कोच’को कुर्सी घुमाएपछि विनोद चर्चामा आएका थिए । 

ललितपुरको गोदावरीस्थित सनराइज हलमा आयोजित ग्रान्ड फिनालेमा मकरबहादुर योञ्जन फस्ट रनरअप, कुमार प्रयास राई सेकेन्ड रनरअप र नोगेन लिम्बू थर्ड रनरअप भए ।

विनोदको सांगीतिक यात्रा

इलामको फाकफोकथुम गाउँपालिका–५, लुम्देमा बुबा हरिबहादुर र आमा गौमतीको कोखबाट २०४७ कात्तिक १९ मा जन्मिएका विनोदले माध्यमिक तहको शिक्षा गाउँमै लिए । 

स्थानीय जालपा माध्यमिक विद्यालयबाट कक्षा १० पास भएपछि ११ र १२ कक्षा पढ्न उनी मोरङको पथरीस्थित पञ्चायत मावि पुगे । त्यहाँबाट कक्षा १२ पास गरेपछि पथरी बहुमुखी क्याम्पसबाट मानविकी संकाय नेपाली विषयमा स्नातक गरे । र, उनले शिक्षा संकायमा पनि स्नातक गरेका छन् । 

सानैदेखि गायनमा रुचि भएका विनोद गाउँघरमा घाँसपात गर्न जाँदा र साथीभाइ भेला हुँदा गीत गाएर सुनाउँथे । उनलाई सबैले गाउने हौसला दिन थालेपछि ‘इलाम आइडल’मा भाग लिए । अरू प्रतिस्पर्धीलाई पछि पार्दै अघि बढेपनि बिरामी परेकाले फाइनलमा सहभागी हुनै पाएनन् । 

तर, उनको सांगीतिक यात्रा रोकिएन । ‘नेपाली तारा सिजन ३’मा प्रतिस्पर्धा गरे । उत्कृष्ट सातमा पुगेर बाहिरिए । ‘यसबीचमा भएका केही सांगीतिक प्रतिस्पर्धाको नाम लिन चाहन्नँ,’ उनले भने । 

नियमित पढाइसँगै विनोदले पथरीको पूर्वाञ्चल संगीत विद्यालयमा भर्ना भइ संगीतको ‘कखरा’ सुरु गरे । अबोध पन्दाकले उनलाई ‘सरगम’को औपचारिक शिक्षा दिए । झापा दमकस्थित सुरवी संगीत विद्यालयमा अनिल फागोसँग उनले संगीतका ‘आरोह–अवरोह’ निखार्ने मौका पाए । त्यसपछि काठमाडौं गएर ललितकला क्याम्पसमा भर्ना भइ ‘भोकल’मा स्नातक गरे । उनले गीत–संगीतमा स्नातक हासिल गरेको सात वर्ष बितेको छ ।

सामान्य किसान परिवारमा जन्मेका विनोद चार दाजु–भाइमध्येका साहिँला हुन् । उनका तीन दिदी र एक बहिनी छन् । छ वर्षअघि झापा बेलडाँडीकी रेनुका राईसँग उनी विवाह बन्धनमा बाँधिए । ‘म भ्वाइस् अफ् नेपाल प्रतिस्पर्धामा जित्नका लागिभन्दा पनि सिक्नका लागि आएको हुँ,’ उनले भने, ‘सुरुमै जितको लक्ष्य राख्ने हो भने आफूमा घमण्ड बढ्छ, त्यसैले यो प्लेटफर्मलाई मैले एउटा पाठशाला र महासागर ठानेको छु ।’

विनोदलाई यो उपाधि दिलाउन जिल्लाबासीले अभियान नै चलाएका थिए । जिल्लाका पालिका–पालिकामा विनोदका लागि भोट भाग्दै कलाकार र उनका शुभचिन्तक दौडाहा थिए  । इलामबासी सयौंले विनोदलाई भोट दिएर जिताउन भन्दै सामाजिक सञ्जालमा प्रचार गरेका थिए । 

गृहजिल्ला इलाम नै भएका पूर्वप्रधानमन्त्री खनालदेखि प्रतिनिधिसभा सदस्य बस्नेत, प्रदेशसभा सदस्य रामबहादुर रानामगरलगायत राजनीतिक दलका नेता–कार्यकर्ता, विद्यार्थी, संगीतप्रेमी र सामाजिक अभियन्तालगायतले उनलाई जिताउन भोट दिन आग्रह गरेका थिए ।पालिका पेज बाट साभार

Facebook Comments Box