इलाम गोल्ड कपको सेमिफाइनल मा झापा
बिर्तामोड युनाईटेड झापा प्रथम इलाम गोल्ड कपको सेमिफाइनल प्रवेश गरेको छ । आइतबार भएको दोस्रो क्वाटर फाइनल खेलमा जागृति युवा क्लब इटहरीलाई ३–० गोल अन्तरले पराजित गर्दै झापाले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो । विदेशी खेलाडी सहित मैदानमा उत्रिएको इटहरी झापा सामु स्तब्ध बन्दा पहिलो खेलमै चित्त बुझाउन बाध्य बनेको छ । खेलको मध्यान्तर अघि दुवै टिमले खेल प्रतिस्पर्धात्मक रूपमा खेले पनि खेलको ३८ मिनेटमा झापाका हिसबु थपलियाले गोल गर्दे आफ्नो टिमलाई अग्रता दिलाएका थिए । मध्यान्तर पछि खेललाई बराबरी गर्दे जित निकाल्ने रणनीतिका साथ मैदान प्रवेश गरेको इटहरीको रणनीतिमा झापा बाधक बन्दा पहिलो खेलबाटै बाहिरिन पुगेको छ ।
मध्यान्तरपछि अधिकांश समय दबाबमा राखेको झापाले ५१ औँ मिनेटमा हिसबुको दोस्रो गोलसँगै जितको अग्रता बलियो बनेको थियो । जागृतिका जर्सी नं. १६ ले कर्नर बनाएपछि झापाका प्रशान्त लक्सामले हानेको कर्नर किक जर्सी नं. १९ का देवेन्द्र तामाङले गरेको हेडलाई हिसुबले हेड मार्फत नै गोल गरेका अग्रता बलियो बनाए । खेलका ८६ औँ मिनेटमा झापाका प्रशान्त लक्समले गोल गर्दै टिमलाई जित दिलाए ।
इटहरीका जर्सी नं. १७ फोफोनाले गोल गर्ने केही अवसर पाए पनि गोल गर्न सकेनन् । मध्यान्तर पनि निकै दबाबमा रहेको इटहरीले गोल गर्न प्रहार गर्ने अवसर पाए पनि गोलमा परिणत गर्न नसक्दा क्वाटर फाइनलबाटै बाहिरिन पुग्यो । झापाले अब मङ्गलवार हुने बुटवल लुम्बिनी फुटबल क्लब र पाँचथर फुटबल क्लब पाँचथरको विजेतासँग सेमिफाइनल खेल्ने छ । खेलको म्यान अप द म्याच विजेता झापाका हिसबु थपलिया घोषित हुँदै नगद पाँच हजार प्राप्त गरे । सोमबार तेस्रो क्वाटरफाइनलमा न्युरो टिम (एनआरटी) र बाग्मती युवा क्लब सर्लाहीबिच प्रतिस्पर्धा हुनेछ ।
माघ १३ गतेसम्म सञ्चालन हुने गोल्ड कपको विजेताले नगद पाँच लाख र उपविजेताले नगद तीन लाख पाउनेछन् । सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट किपर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, उदीयमान खेलाडी र उत्कृष्ट कोचलाई खेलको अन्तिम दिन नगद पाँच हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
