चुलाचुली का श्रष्टा कृष्ण भुषण बल पुरस्कार द्वारा सम्मानित
प्रसिद्ध कवि कृष्णभूषण बल स्मृति युवा पुरस्कारबाट इलामे साहित्यकार विवश बलिभद्र कोइराला सम्मानित भएका छन् ।
इलाम चुलाचुली–१, हात्तीलेदा स्थायी घर भएका कोइराला विराटनगरस्थित कृष्णभूषण बल प्रतिष्ठानबाट सम्मानित भएका हुन् ।
लामो समयदेखि नेपाली गजल, गीत विधामा केन्द्रित कोइरालाका ‘लेकबेंसीका भाकाहरू’, ‘काँचको मुटु’ गीत–गजलका कृतिलगायत दर्जनौं सिर्जना छन् ।
उनका रचनामा गाउँ–घरका भाका र मानिसकै ‘मन–मुटुका स्पन्दन’ समावेश छन् । साथै, प्रेम, प्रकृति र सामाजिक जीवनका बिम्ब–प्रतिबिम्ब उनको सिर्जनाका विशेषता हुन् ।
प्रतिष्ठानले कोइरालालाई उनको समर्पण, लगनशीलता र उत्साह अभिप्रेरित गर्दै गजल विधामा गरेको योगदानलाई कदर गरेको जनाएको छ ।
कोइरालासँगै मोरङ झोराहाटका कवि उमेश लुइँटेल पनि सम्मानित भएका छन् ।
प्राध्यापक डाक्टर टंकप्रसाद न्यौपानेको अध्यक्षता तथा कविराज न्यौपानेको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । त्यस अवसरमा प्रतिष्ठानकी प्रमुख संरक्षक शोभा लामा बल र महासचिव विवश पोख्रेल पनि सहभागी थिए ।
