कोशी प्रदेशमा नयाँ सरकार बन्छ कि मध्यावधि ?
केन्द्रीय सत्ता गठबन्धनमा अचानक फेरबदल भएसँगै मुख्यमन्त्री केदार कार्की नेतृत्वको कोशी प्रदेश सरकार सङ्कटमा परेको छ । केन्द्रमा एमाले, माओवादी, रास्वपा र जसपा मिलेर नयाँ गठबन्धन निर्माण भएको छ । योसँगै केन्द्र र प्रदेश सरकारमा पनि फेरबदल हुनेछ ।
नयाँ गठबन्धन अनुसार प्रदेश सरकार परिवर्तन हुने नेकपा एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताए । ‘कोशीमा अब नयाँ सरकार बन्छ । गठबन्धन नै परिवर्तन भएपछि मुख्यमन्त्री केदार कार्कीले राजीनामा दिनुपर्छ,’ भण्डारीले भने, ‘माओवादीसहित ४७ जनाको समर्थन उहाँलाई थियो । माओवादीको सांसद सङ्ख्या घट्ने बित्तिकै उहाँ अल्पमतमा पर्नुभयो । त्यसो हुँदा उहाँले राजीनामा दिनुपर्छ ।’
मुख्यमन्त्रीले राजीनामा दिएपछि संविधानको धारा १६८ को उपधारा ५ अनुसार नै अर्को सरकार बन्ने भण्डारीको दाबी छ । एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले पनि सरकार परिवर्तन हुने बताए । ‘अब यो सरकार किन राख्नु पर्यो ?,’ कार्कीले भने, ‘माथिको परिवर्तन भएसँगै यहाँ पनि परिवर्तन हुन्छ ।’ यद्यपि प्रदेश सरकार कसको बन्ने भन्नेबारे भागबण्डा सकिएपछि मात्रै थाहा हुने उनले बताए ।
२०७९ को निर्वाचनपछि कोशी प्रदेशसभा गठन भएको १४ महिनामा पाँचौँ पटक सरकार फेरबदल भएको छ । सरकार निर्माण हुने अन्तिम विकल्प रहेको संविधानको धारा १६८ को उपधारा (५) अनुसार बनेको कार्की नेतृत्वको सरकारको दिनगन्ती सुरु भएको छ । उनको सरकार बनेको १४२ दिन नाघेको छ । यस बिचमा गठबन्धन दलहरू, विपक्षी दल तथा मुख्यमन्त्री कार्कीको आफ्नै दल नेपाली कांग्रेसमा उनीप्रति तीव्र असन्तुष्टि छ ।
