आउँदो वैशाख १५ मा हुने प्रतिनिधिसभा उपनिर्वाचनमा नेकपा (माओवादी) केन्द्रले नेकपा (एमाले) उम्मेदवार सुहाङ नेम्बाङलाई सघाउने भएको छ ।

दुवै पार्टीका शीर्ष नेताबीच एमाले उम्मेदवार सुहाङङलाई साझा उम्मेदवार बनाउने सहमति भएको हो  ।

माओवादी केन्द्रीय सदस्य तथा पार्टीबाट उम्मेदवारमा सिफारिस भएका धिरेन्द्र शर्मा रमणले पार्टी केन्द्रबाट एमाले उम्मेदवारलाई सघाउन निर्देशन आएको पालिकापेजलाई बताए । 

‘सम्भवतः दुवै पार्टीका शीर्ष नेताबीच सहमति भएको होला, हामीलाई इलाम २ मा एमाले उम्मेदवारलाई सघाउन केन्द्रबाट निर्देशन आएको छ,’ शर्माले भने, ‘पार्टीको निर्णय कार्यान्वयन हुन्छ ।’ 

शर्माले बझाङको प्रदेशसभामा माओवादी उम्मेदवारलाई एमालेले सघाउने सहमति भएको हुनसक्ने बताए ।  

माओवादी जिल्ला कमिटीले शर्मालाई एकल रूपमा उम्मेदवार बनाउन सिफारिस गरेको थियो । केन्द्रबाट निर्णय नआउँदै उनको चुनावी प्रचारसमेत सुरु भएको थियो । 

२०७९ को निर्वाचनमा एमालेका सुवासचन्द्र नेम्बाङ यो क्षेत्रबाट ३० हजार २० मत ल्याएर विजयी बनेका थिए । निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका डम्बरबहादुर खड्काले २९ हजार नौ सय छ मत ल्याएका थिए । खड्का तत्कालीन सत्ता गठबन्धनका उम्मेदवार थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रकाश सापकोटाले एक हजार तीन सय ८० मत ल्याएका थिए । समानुपातिकतर्फ एमालेले २६ हजार पाँच सय ६२, कांग्रेसले २२ हजार तीन सय ३३, माओवादीले पाँच हजार एक सय ५३ र रास्वपाले चार हजार छ सय ८६ मत ल्याएका थिए । 

रास्वपाले यो क्षेत्रमा मिलन लिम्बूलाई उम्मेदवार बनाएको छ । नेपाली कांग्रेसको उम्मेदवार टुंगिन बाँकी छ भने पहिचान पक्षधरको तर्फबाट डकेन्द्रसिंह थेगिम उम्मेदवार छन् । राप्रपाले लक्ष्मी गुरुङ र नेकपा (एकीकृत समाजवादी)ले जितबहादुर राईलाई उम्मेदवार बनाएका छन् । पालिका पेज बाट साभार
 

Facebook Comments Box