एमालेले उम्मेदवार टुंग्याएको १२ दिनपछि कांग्रेसले डम्बरबहादुर खड्कालाई उम्मेदवार बनाउनुमा प्रमुख आधार निकट विगतकै प्रतिस्पर्धालाई मुख्य आधार बनाएको छ ।

कांग्रेसले लगातार चुनाव हार्ने गरेको यो क्षेत्रमा खड्काले गत वर्षको चुनावमा नेम्वाङलाई कडा चुनौती दिएका थिए । यसपटक पार्टी मत जोगाउँदा खड्काले चुनाव जित्ने आकलन कांग्रेस नेताहरुको छ । ३५ वर्ष नकटेकालाई प्रमुख प्रतिस्पर्धी दलहरुले उम्मेदवार बनाउँदा कांग्रेसले ५० वर्षका खड्कालाई उम्मेदवार बनाउनुमा अनुभव र संगठनको पडकलाई अर्को आधार मानेका छन् ।

२०७८ को जिल्ला अधिवेशनमा खड्काले भेषराज आचार्यलाई हराएर जिल्ला सभापति जितेका थिए । पार्टी संस्थापन प्यानलमा उभिएर जिल्ला सभापति जितेपछि प्रतिनिधिसभाको टिकट पनि हात पारेका थिए । कांग्रेसका एक नेताका अनुसार गत वर्ष चुनावमा टिकट पाउँदा देउवाले नै यो क्षेत्र आफ्नो कोटामा राखेका थिए । ‘यो क्षेत्रको टिकट मेरो भागमा परेको हो, उपनिर्वाचनमा डम्बरलाई अवसर दिनुपर्छ भन्ने शेरबहादुर देउवाको तर्कलाई अरु नेताले काट्न सकेनन्’, ती नेता भन्छन् ।

तीन दशक लामो राजनीतिक अनुभव रहेका खड्का २०७४ को चुनावमा भने प्रदेशसभा सदस्यको उम्मेदवार थिए । इलाम–२  (क)  बाट कांग्रेसको उम्मेदवार बनेका खड्कालाई एमालेका राम रानाले हराएका थिए । २०५१ मा तरुण दलको जिल्ला सभापति, २०५८ मा तरुण दलको केन्द्रीय सदस्य, २०६४ मा केन्द्रीय उपाध्यक्ष हुँदै पार्टी राजनीतिमा आएका खड्का २०६७ मा जिल्ला कोषाध्यक्ष र २०७८ मा जिल्ला सभापति बनेका थिए । निर्माण व्यावसायी समेत रहेका खड्कासँग लामै राजनीतिक र चुनावी अनुभव लिइसकेकाले पनि टिकट दिइएको नेताहरु बताउँछन् । यसबाहेक उनी खयआर्य समुदायबाट एक्लो उम्मेदवार हुनु सकारात्मक पक्ष हो । सन्दर्भ सामाग्री लोकल सन्देश बाट साभार

Facebook Comments Box