आउँदो वैशाख १५ मा हुने इलाम क्षेत्र २ को उपनिर्वाचनलाई केन्द्रित गरी आज (बुधबार)देखि निर्वाचन आचारसंहिता लागु हुँदैछ । 

इलाम क्षेत्र २ मा मात्र निर्वाचन हुने भएपनि जिल्लाभर आचारसंहिता लागु हुने निर्वाचन आयोगको सूचनामा उल्लेख छ ।  

आयोगले आजदेखि उपनिर्वाचन सम्पन्न नभएसम्मका लागि आचारसंहिता लागु गरेको हो । आयोगका अनुसार उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गर्न निर्वाचन आचारसंहिता, २०७९ को व्यवस्था लागु गर्ने निर्णय गरिएको हो । 

निर्वाचन आचारसंहिता नेपाल सरकार, नेपाल सरकारका मन्त्री,  प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री, संवैधानिक निकाय र सो निकायका पदाधिकारी, नेपाल सरकार वा प्रदेश सरकारका निकाय र सो निकायका पदाधिकारीलाई आचारसंहिता लाग्नेछ ।

यस्तै, स्थानीय कार्यपालिका र सोका सदस्य, संघ, प्रदेश र स्थानीय तहका कर्मचारी, सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी, सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय र कर्मचारी, राजनीतिक दल तथा राजनीतिक दलको भ्रातृ संगठनलाई पनि आचारसंहिता लाग्नेछ । 

उम्मेदवार तथा सम्बन्धित व्यक्ति, राजनीतिक दल तथा उम्मेदवारको मतदान प्रतिनिधि तथा मतगणना प्रतिनिधि, सार्वजनिक पद धारण गरेको व्यक्ति, अनुगमन समितिका पदाधिकारी तथा अनुगमनकर्ता, पर्यवेक्षण संस्था तथा पर्यवेक्षक, सञ्चार प्रतिष्ठान, सोका कर्मचारी तथा सञ्चारकर्मीले आचारसंहिता पालना गर्नुपर्नेछ ।

निजी तथा गैरसरकारी संस्था, सोका पदाधिकारी तथा कर्मचारी, विद्यालय, महाविद्यालय वा विश्वविद्यालय, सोका शिक्षक तथा कर्मबारी, मतदाता, विकास साझेदार संस्था, सरकारी वा अर्धसरकारी निकायबाट सञ्चालित परियोजना तथा परियोजनाका कर्मचारी, मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने संस्था तथा सो संस्थाका कर्मचारीलाई पनि आचारसंहिता लाग्ने आयोगले जनाएको छ ।

आयोगका अनुसार निजी क्षेत्रका बैंक तथा वित्तीय संस्था, सहकारी संस्था, व्यापारिक तथा औधोगिक क्षेत्र, सोका, पदाधिकारी, कर्मचारी तथा कामदार, वस्तु वा सेवा प्रदायक व्यावसायिक संस्थाका पदाधिकारी, कर्मचारीले  समेत आचारसंहिता पालना गर्नुपर्नेछ । 

निर्वाचनमा १२ दल र सात स्वतन्त्र गरी १९ उम्मेदवार प्रतिस्पर्धामा छन् । आजदेखि वैशाख १२ सम्म उम्मेदवारले चुनावी प्रचारप्रसार गर्न पाउनेछन् ।  पालिका पेज बाट साभार

Facebook Comments Box