इलाम क्षेत्र २ का नेपाली कांग्रेस उम्मेदवार डम्बरबहादुर खड्काले आफ्नो चुनावी अवधारणा सार्वजनिक गरेका छन् । 

उनले आज (आइतबार) इलाममा पत्रकार सम्मेलन आयोजना गरी ‘इलाम इलम’ अवधारणा ल्याएका हुन् । खड्काले विभिन्न आठ विषयवस्तुलाई चुनावी अवधारणा बनाएका छन् । 

उनले अभिभावक कृषि बैंक तथा बिमा, बाटोदेखि विकाससम्म, इलमी इलामेली शिक्षा, इलामेली उद्यमशीलता स्कुल, इलाम लगानी सम्मेलन २०८२, इलाम भ्रमण वर्ष २०८२, इलाम डिजिटलाइजेसन, प्रबुुद्ध कार्यान्वयन समूहलाई मुख्य विषय बनाएको पत्रकार सम्मेलनमा सार्वजनिक गरे ।

उनले आफू विजयी हुँदा गर्न सकिने यी कार्यक्रमका शीर्षकसमेत सुनाए । कृषि बैंक तथा बिमातर्फ आठ ‘अ’को बजारीकरण, उचित मूल्य निर्धारणमा काम गर्ने र न्यूनतम् समर्थन मूल्यसमेतका कार्यको अवधारणा प्रस्तुत गरे । 

बाटोदेखि विकाससम्म शीर्षकमा सबै पालिका र गाउँपालिकाबीच कालोपत्रे बाटो, सबै वडामा बाह्रमासे बाटो तथा एम्बुलेन्स÷दमकल चल्ने सुविधा, पहिरोमुक्त विकास छन् । इलमी इलामेली शिक्षातर्फ इलममा आधारित शिक्षा, इलमी इलामेली पाठ्क्रम विकास केन्द्र स्थापनालगायत छन् ।     

वैशाख १५ को उपनिर्वाचनमा आफूसँग धेरै उम्मेदवारको प्रतिस्पर्धा हुने खड्काले बताए । ‘अहिले कताकता गठबन्धन पनि बनेको छ भन्ने सुनेको छु,’ उनले भने, ‘कम्पिटिसन धेरैजनाबीच हुनेवाला छ ।’ 

कांग्रेस जिल्ला सभापतिसमेत रहेका उम्मेदवार खड्काले पार्टीभित्र आन्तरिक विवाद नरहेको दाबी गरे । ‘अहिले कांग्रेसभित्र आन्तरिक किचलो छैन,’ उनले दाबी गरे, ‘आउँदो निर्वाचनमा कांग्रेस एक भएर मतदान गर्छ, अहिलेका उम्मेदवारमध्ये चुनाव क्षेत्रमा सेवामूलक काम गरेको अनुभवी उम्मेदवार मै भएकाले मतदाताले माया गर्नुहुन्छ ।’

खड्का २०७९ सालको निर्वाचनमा पनि यही क्षेत्रको उम्मेदवार थिए । नेकपा (एमाले)का सुवासचन्द्र नेम्बाङसँग उनी एक सय १४ मतले पराजित भए । नेम्बाङले ३० हजार २० मत ल्याएका थिए भने गठबन्धनका उम्मेदवार खड्काले २९ हजार नौ सय छ मत ल्याएका थिए । २०७४ सालको निर्वाचनमा पनि खड्का इलाम क्षेत्र २ (१)मा एमालेकै रामबहादुर रानामगरसँग पराजित भएका थिए । 

वैशाख १५ मा हुने उपनिर्वाचनमा १२ दल र सात स्वतन्त्र उम्मेदवार प्रतिस्पर्धामा छन् । एमाले, नेकपा (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी र नेपाल परिवार दलको तर्फबाट एमालेका सुहाङ नेम्बाङ साझा उम्मेदवार छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मिलन लिम्बूलाई उम्मेदवार बनाएको छ । पहिचान पक्षधरतर्फबाट डकेन्द्रसिंह थेगिमले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

जनमत पार्टीका प्रेमबहादुर लिम्बू, नेपाल मजदुर  किसान पार्टीका श्यामबहादुर दर्जी, मंगोल नेसनल अर्गनाइजेसनका मनीबहादुर लिम्बू, नेसनल रिपब्लिक नेपालका धनराज रानामगर, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी गुरुङ, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत) समाजवादीबाट जितबहादुर राई उम्मेदवार बनेका छन् । 

राष्ट्रिय मुक्ति आन्दोलन नेपालका जयवन्तविक्रम साह, राप्रपा नेपालका गणेशबहादुर चौहान, नेपाली जनता दलका रेशमबहादुर सुनार नेपालीले उम्मेदवारी दर्ता गराए । स्वतन्त्रबाट डाकप्रसाद गौतम, मनोज निरौला, अर्जुनकुमार साही, दीपेश बोहोरा, योगेन्द्र गुरुङ र राज बस्यालले उम्मेदवारी दर्ता गराएका छन् । पालिका पेज बाट साभार

Facebook Comments Box