इलाममा लागुऔषधको प्रयोग बढ्दो
इलाममा लागुऔषधका घटनाको संख्या बढिरहेको छ ।
चालु आर्थिक वर्षको वैशाखसम्म जिल्लामा लागुऔषधसम्बन्धी १५ मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यीमध्ये गाँजामा एउटा र ब्राउनसुगरमा १४ मुद्दा दर्ता भएका छन् । गाँजासम्बन्धी मुद्दामा तीन जना पक्राउ परेका छन् भने ब्राउनसुगरमा ३१ पक्राउ परेर उनीहरूमाथि मुद्दा चलिरहेको इलामका डिएसपी प्रकाश जबेगूले बताए ।
जबेगुका अनुसार चालु वर्ष पाँच किलो ६७ ग्राम गाँजा र एक सय ३३ ग्राम ब्राउनसुगर बरामद भएको छ ।
जबेगूका अनुसार आर्थिक वर्ष ०७९/०८० मा १४ मुद्दामा २२ जनालाई पक्राउ गरेर मुद्दा चलाइएको थियो । यो वर्ष चार ग्राम ३५ मिलिग्राम ब्राउन सुगर, स्पास्पेन ७४ पिस, ट्रामाडोल ५८ पिस बरामद गरिएको थियो ।
आर्थिक वर्ष ०७८/०७९ मा आठ मुद्दामा १२ पक्राउ परेका थिए । त्यो वर्ष चार ग्राम छ सय ८० मिलिग्राम ब्राउन सुगर, स्पास्पेन चार पिस, ट्रामाडोल चार पिस, गाँजा १ दशमलव ५ किलो गाँजा बरामद गरिएको जनाइएको छ ।
‘यो वर्ष लागुऔषधका १५ मुद्दा दर्ता भइसकेका छन् । वैशाखमै पाँच मुद्दा दर्ता भए । अझै दुई महिना बाँकी छ । लागुऔषधका मुद्दा बढ्ने निश्चतजस्तै छ,’ डिएसपी जबेगूले भने ।
भर्खरै इलाम आएका भएका एसपी प्रभुप्रसाद ढकालले लागुऔषध मुद्दाको संख्या संवेदनशील रहेको जनाए । लागुऔषध ओसार–पसार र प्रयोगकर्तालाई कसरी नियन्त्रण गर्न सकिन्छ भन्नेमा आफू गम्भीर रहेको ढकालको भनाइ छ ।
‘प्रयोगकर्तालाई सुधारात्मक र कानुनी दुवै ढंगले हेरेर नियन्त्रणमा ल्याउने प्रयास गर्नेछौं,’ एसपी ढकालले भने, ‘लागुऔषध भित्रिने स्थानको सूक्ष्म पहिचान गरेर अघि बढ्नेछौं ।’
तर, इलाम सदरमुकामकै विद्यालयमा अध्ययन गर्ने धेरै विद्यार्थी १२ वर्ष उमेरदेखि नै चुरोट र गाँजाको लतमा फसेको पाइनेगरेको सामाजिक अभियन्ता बताउँछन् ।
लागुऔषध नियन्त्रणमै काम गर्न थालेको ज्योतिर्मय सामाजिक अभियान अध्यक्ष धिरेन चेम्जोङले हरेक घर–परिवार, टोल, गाउँ, समाज लागुऔषधबाट आक्रान्त हुँदैगएकाले त्यसबाट बचाउन सबै अभिभावक सचेत हुनुपर्ने सुझाए ।
‘अहिले प्रयोगकर्तामात्र होइन, यसको व्यवसाय पनि बढेको अनुमान गर्न सकिन्छ, लागुऔषधले नछोएको कुनै घर छैन भन्ने अवस्था हराइसक्यो,’ चेम्जोङले भने, ‘लागुऔषधले भविष्य धेरै खतरामा छ ।’
लागुऔषध न्यूनीकरण र नियन्त्रणका लागि सचेत गराउन अब जिल्लाका सबै पालिकामा अभियान चलाउने तयारी रहेको चेम्जोङले बताए । पालिका पेज बाट साभार
