शिक्षाको निर्देशनपछि इलामका ११ सय शिक्षकले पार्टी त्यागे
इलामका एक हजार एक सय छ शिक्षकले राजनीतिक दल त्यागेको घोषणा गरेका छन् ।
शिक्षा कार्यालयमा लिखित निवेदन दिएर उनीहरूले अबदेखि आफू कुनै पनि दलमा आबद्ध नगरेको घोषणा गरेका हुन् ।
शिक्षा मन्त्रालयको निर्देशनअनुसार असार ५ देखि आज (सोमबार) सम्ममा उनीहरूले आफू आबद्ध दल त्यागेको निवेदन दिएको इलामस्थित शिक्षा विकास तथा समन्वय इकाईले जनाएको छ ।
इकाईका अनुसार इलाममा दुई हजार दुई सय ८२ शिक्षक दरबन्दी रहेकामा दुई हजार दुई सय ५२ कार्यरत छन् । इकाई प्रमुख डम्बर सुवेदीले गत ५ गतेको सूचनाअनुसार शिक्षकले आफू दलको सदस्यबाट अलग भएको लिखित निवेदन इकाईमा दिएका हुन् ।
‘कतिपय शिक्षकले आफू दलमा भएपनि सदस्यता नवीकरण नै नगरेको लामो समय भएको भन्दै पनि निवेदन दिएर दल त्याग गर्नुभएको छ,’ उनले भने, ‘कतिपयले दलको सदस्य नरहने जानकारीसहितको निवेदन दिनुभएको छ ।’
शिक्षा मन्त्रालयको निर्देशनपछि इकाईले जिल्लाका शिक्षकलाई सूचना जारी गरी शिक्षक पदमा कार्यरत रही राजनीतिक दलको सदस्यता लिएको, राजनीतिक दलको कार्यकारिणी समितिमा रहेको महाधिवेशन प्रतिनिधि भएमा, दलमा आबद्ध वा दलको सदस्य वा शिक्षक पदमध्ये रोजी अन्य पद त्याग गरेको निवेदन दिन निर्देशन दिएको थियो ।
सूचनामा यसपछि पनि सामुदायिक विद्यालयको शिक्षक पदमा कार्यरत रही दलमा आवद्ध वा दलको सदस्य, कार्यकारिणी समितिमा रहेको पाइए कानुनबमोजिम कारबाही गर्ने चेतावनीसमेत दिइएको थियो । यस्तो सूचनापछि शिक्षकले दलको पद त्यागेका हुन् ।
‘अहिले पनि यसरी दलको पद त्याग गर्ने भन्दै टाढाका शिक्षकले सम्पर्क गरिरहनुभएको छ,’ इकाई प्रमुख सुवेदीले भने, ‘म्याद पाँच दिनको मात्रै तोकिएको भएपनि पद त्याग गर्ने शिक्षकका लागि निवेदन लिने समय खुकुलो गरिएको छ, अझै केही समय यस्तो निवेदन लिनेछौं ।’पालिका पेज बाट साभार
