सरकारी सेवा लिन अनिवार्य गरिने राष्ट्रिय परिचयपत्र बनाउन इलाममा भिड बढेको छ । 

जिल्ला प्रशासन कार्यालयमा दिनहुँ सयभन्दा बढीले परिचयपत्रका लागि तस्बिर खिचाउँदै आवेदन दिइरहेका छन् भने परिचयपत्र लिन आउनेको संख्या पनि बाक्लिँदैछ ।

सरकारले आउँदो माघ १ देखि राष्ट्रिय परिचयपत्रलाई अनिवार्य गर्ने निर्णय गरेपछि प्रशासनमा सेवाग्राहीको चाप बढेको हो । विशेषगरी सामाजिक सुरक्षा भत्ता लिने ज्येष्ठ नागरिक राष्ट्रिय परिचपत्र बनाउन आइरहेका छन् । तर, तत्काललाई सामाजिक सुरक्षा भत्ता लिन चाहिँ यो परिचयपत्र अनिवार्य नगर्ने निर्णय सरकारले गरेको थियो । 

परिचयपत्र बनाउन बिहान ९ बजेदेखि नै प्रशासनमा सेवाग्राहीको लाइन बसिसकेको हुन्छ । सेवाग्राहीको काम सुरु भएपछि कार्यालयको ‘सर्भर डाउन’ भएर कतिपय दिन घन्टौंसम्म पर्खिनुपर्ने भइरहेको छ । निकैबेर लाइन बसेपछि पनि प्राविधिक समस्या आइलाग्दा सेवाग्राहीले प्रशासनमा निकै सास्ती खेप्नुपरेको बताएका छन् । 

रोङ गाउँपालिकाबाट सेवा लिन आएका मोहन अर्यालले सेवा लिनको ठूलो भिड हुँदा पनि सेवा दिने प्राविधिक इकाई एक–दुईवटामात्रै हुनु कार्यालयको कमजोरी रहेको गुनासो गरे । ‘सेवाग्राहीको यत्रो भिड छ, नयाँ परिचयपत्र बनाउने र बनिसकेको परिचयपत्र एकै टेबलबाट बाँड्ने कामले सेवा झन्झटिलो भएकोरहेछ,’ उनले भने, ‘सेवाग्राहीको संख्या धेरै भएपनि सेवा दिने ठाउँ किन नबढाइएको होला ?’

कतिपय ७० वर्षभन्दा माथिका नागरिकले समेत अहिले यहाँको सेवा लिन घन्टौं कुर्नुपरिरहेको बताएका छन् । ‘निकैबेर पर्खेर बसिसकियो, फोटो खिचाउने पालो आएन,’ ज्येष्ठ नागरिक यामप्रसाद चापागाईंले गुनासो गरे, ‘कम्प्युटरमा सेवा छैन रे, अनलाइन भएन भनेर पर्खिएको पर्खियै छौं ।’

सेवाग्राहीको भिड र दबाब बढेपछि सेवा दिन बसेका केही कर्मचारीलाई समेत सास्ती भएको छ । ‘भिड थामिनसक्नु भएका बेला सर्भर गइदिएर समस्या बढाइदियो,’ आइतबार दिउँसो यो शाखाका एक कर्मचारीले भने, ‘हामीलाई पनि सबैलाई चाँडै सेवा दिउँ भन्ने त लाग्छ तर प्राविधिक समस्या भएपछि के गर्न सकिन्छ र ? कतिपय काम अफ लाइन गरेर भएपनि सेवा छिटो दिने प्रयास गरिरहेका छौं ।’

कार्यालयसम्म आएका सेवाग्राहीलाई राति ७ बजेसम्म बसेर भएपनि सेवा दिइरहेको सहायक सिडिओ महेशराज तिम्सिनाले बताए । ‘आएर लाइन बसिसकेका सेवाग्राहीलाई हामी राति ७–८ बजेसम्म भएपनि काम सकेरै बिदा दिइरहेका छौं,’ उनले भने, ‘सर्भरको प्राविधिक समस्या चाहिँ हाम्रो बसमा छैन, माथिबाटै समाधान भएर आउँदामात्रै सेवा दिन मिल्नेखालको छ ।’ 

राष्ट्रिय परिचयपत्र बनाउन आउने सेवाग्राहीले अनलाइन फाराम भराउनुपर्छ । त्यसपछि फोटो खिचाउनुपर्छ र आफ्नो फाराम रुजु गराउनुपर्छ । यसअघि नै बनेर आइसकेको परिचयपत्र लिन पनि सम्बन्धित व्यक्ति आफैं कार्यालयमा आएर बायोमेट्रिक (औंठाछापसहितको विवरण) दिनुुपर्ने प्रावधान छ । यी दुवै सेवा एकै ठाउँबाट दिनुपर्ने भएपछि कार्यालयमा भिड बढेको हो । 

सहायक सिडिओ तिम्सिनाले कार्यालयमा अहिले दुई सेन्टरबाट राष्ट्रिय परिचयपत्रको फोटो खिचाउने व्यवस्था मिलाइएको जानकारी दिए । ‘सुरुमा त एउटामात्रै सेन्टर थियो, भिड बढेकै कारण दुई बनाइएको छ,’ उनले भने, ‘अरू सेन्टर थप्न प्राविधिक समस्या छ, तालिमप्राप्त जनशक्ति छैन, यो सर्भर अहिले धेरै सेन्टरमा बढाउन पनि मिल्नेखालको छैन ।’ 

उनले अहिले पनि परिचयपत्रका लागि प्राविधिक जनशक्ति केन्द्रबाटै व्यवस्था गरिएको बताए । ‘सेवाग्राहीले पाइरहेको दुःख हामीले देखेका छौं तर विभिन्न कठिनाइ भएकाले सेवा लिन केही गाह«ो परेको छ,’ उनले भने, ‘तर, सकेसम्म सेवाग्राहीलाई छिटोभन्दा छिटो सेवा दिने प्रयासमा छौं ।’ 

आइतबार केही घन्टा सर्भर डाउन भएपछि सिडिओ कल्पना श्रेष्ठ आफैं राष्ट्रिय परिचयपत्र वितरण गरिने फाँटमा पुगेर चासो गरेकी थिइन् । उनले किन लामो समयसम्म सर्भर नचलेको हो ? किन सेवाग्राहीले धेरै समय पर्खिनुपरिरहेको छ ? भन्दै कर्मचारीसँग सोधपुछ गरी सेवाग्राहीलाई सम्झाउने प्रयास गरेकी थिइन् । 

सेवाकेन्द्र थप्ने योजना

जिल्ला प्रशासनमा राष्ट्रिय परिचयपत्र बनाउनेको चाप बढेपछि प्रशासनले जिल्लाका दुई पालिकामा सेवा केन्द्र विस्तार गर्नेगरी योजना अघि बढाएको छ । अहिलेलाई पूर्वी क्षेत्रका लागि सूर्याेदय नगरपालिकाको फिक्कल र पश्चिमी क्षेत्रका लागि देउमाई नगरपालिकाको मंगलबारेमा सेवा केन्द्र स्थापना गर्न पहल गरेको प्रशासनले जनाएको छ । 

सहायक सिडिओ तिम्सिनाले भदौदेखि सेवा दिनेगरी ती स्थानमा सेवाकेन्द्र राख्न स्थानीय तहसँग समन्वय भएको उनले जनाए । ‘हुन त यी केन्द्र सबै पालिकामा राख्नुपर्ने हो तर तत्काललाई जहाँ सम्भव हुन्छ, त्यहाँ सेवा सुरु गर्ने तयारी हुँदैछ,’ उनले भने, ‘परिचयपत्रका लागि सुरुमा फाराम भराउन, फोटो खिचाउनमात्र होइन, बनेको परिचयपत्र लिनसमेत बायोमेट्रिक गर्नुपर्ने भएकाले अब पालिका–पालिकाबाट सेवा नदिए सेवाग्राहीले निकै दुःख पाउँछन् ।’ जिल्लाका अरू पालिकासँग पनि यसबारे छलफल चलेको उनको भनाइ छ । 

३५ हजार तयारी परिचयपत्र थन्किए 

जिल्ला प्रशासन कार्यालयमा अहिले बनेर आइसकेका ३५ हजार राष्ट्रिय परिचयपत्र भनेर थन्किएर बसेका छन् । परिचयपत्र बनाउन आउने र बनेको परिचयपत्र लिन नआउने समस्याले ती परिचपत्रको रास लागेको प्रशासनले जनाएको छ । 

‘परिचयपत्र बनाउन आउनेले बनेको परिचयपत्र लिन नआउँदा कार्यालयमै थुप्रो लागेको छ,’ सहायक सिडिओ तिम्सिनाले भने, ‘परिचयपत्र बनेको आएपछि हामी सूचना पनि गर्छौं तर सेवाग्राही लिन नै आउनुभएन, परिचयपत्र लिनेको संख्या चाहिँ दिनहुँ थोरै नै हुनेगरेको छ ।’  पालिका पेज बाट साभार

Facebook Comments Box