रवि लामिछानेको दोश्रो जेल यात्रा
पाँच वर्षअघि पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहनमा संलग्न रहेको अभियोगमा न्युज २४ टेलिभिजनमा कार्यरत रहँदा रवि लामिछाने पक्राउ परेका थिए । उनीसँगै सहकर्मी युवराज कँडेल र नर्स अस्मिता कार्की पनि पक्राउ परेका थिए ।जिल्ला प्रहरी कार्यालय चितवन र काठमाडौँ प्रहरी परिसरको टोलीले उनीहरूलाई २०७६ साउन ३० गते पक्राउ गरेको थियो ।पाँच वर्षपछि उनै लामिछाने दोस्रो पटक प्रहरी नियन्त्रणमा परेका छन् । उतिबेला उनी पत्रकारका रूपमा आफ्ना सहकर्मीको आत्महत्या दुरुत्साहनको अभियोगमा पक्राउ परेका थिए । यस पटक पक्राउ पर्दा उनी प्रतिनिधि सभाको चौथो दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्रीको हैसियतमा छन् । उनी सहकारी ठगी प्रकरणमा पक्राउ परेका हुन् ।पत्रकार पुडासैनी २०७६ साउन २२ मा चितवनको नारायणगढ बसपार्कमा रहेको कंगारु होटलमा मृत भेटिएका थिए । पुडासैनीले मृत्युपूर्व बोलेको भिडियो सञ्चारमाध्यममा आयो । त्यसकै आधारमा प्रहरीले लामिछानेलाई गिरफ्तार गरेको थियो । मोबाइलमा रेकर्ड गराएको भिडियोमा पुडासैनीले रविमाथि आफूलाई आत्महत्या गर्न बाध्य बनाएको गम्भीर आरोप लगाएका थिए ।उतिबेला लामिछाने ११ दिनपछि चितवन जिल्ला अदालतको आदेशमा ५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए । अर्का पत्रकार कँडेल ३ लाख रुपैयाँ धरौटी राखेर रिहा भए भने कार्की साधारण तारेखमा रिहा भएकी थिइन् ।
जिल्ला सरकारी वकिलको कार्यालय चितवनले मुलुकी फौजदारी संहिताको दफा १८५ अनुसार लामिछाने, कँडेल र कार्कीलाई विपक्षी बनाउँदै आत्महत्या दुरुत्साहनको मुद्दा चितवन जिल्ला अदालतमा दायर गरेको थियो ।अदालतको आदेश अनुसार धरौटीमा रिहा भएको केही अवधिपछि लामिछाने जीबी राईसँग मिले, गोर्खा मिडिया नेटवर्कमा जोडिए । चमकधमकका साथ २०७८ मा ग्यालेक्सी फोरके नामक टेलिभिजन उनले सुरू गरे । गोर्खा मिडिया नेटवर्कको अध्यक्ष राई थिए भने लामिछाने प्रवन्ध निर्देशक ।
महत्त्वाकांक्षी लामिछानेको टेलिभिजनसँगको आवद्धता धेरै लामो समय टिकेन । उनी सञ्चारकर्म छाडेर राजनीतिमा होमिए ।२०७९ को स्थानीय तह निर्वाचनमा बालेन शाह, हर्कराज साम्पाङ, गोपी हमालजस्ता स्वतन्त्र उम्मेदवारले जित हात पारेपछि उनी उत्साहित हुँदै नयाँ पार्टी गठनमा लागे । आफ्नो नेतृत्वमा २०७९ असार ७ गते राष्ट्रिय स्वतन्त्र पार्टी गठन गरी २०७९ को निर्वाचनमा उनले भाग लिए । निर्वाचनबाट रास्वपाका २० जना प्रतिनिधि सभा सदस्य चुनिए । राजनीतिमा उनको भाग्य चम्कियो । उनी उपप्रधान तथा गृहमन्त्री बने ।
