लोकप्रिय मतमा माओवादी पहिलो, कांग्रेस दोस्रो, एमाले तेस्रो
स्थानीय तह उपनिर्वाचन अन्तर्गत कोशी प्रदेशका स्थानीय तहका ८ पदको मतपरिणाम आइसकेको छ । ८ पदमध्ये एउटा पालिका अध्यक्ष र ७ वडा अध्यक्षमा प्रतिस्पर्धा भएको थियो । जसमध्ये १ अध्यक्ष र २ वडा अध्यक्ष पदमा जित निकाल्दै माओवादी पहिलो भएको छ ।यस्तै नेपाली कांग्रेस र नेकपा एमालेले दुई–दुई वडा अध्यक्षमा र एक वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।२०७९ सालको निर्वाचनमा भने ती ८ पदमै माओवादी पराजित भएको थियो । अघिल्लो निर्वाचनमा ती ८ पदमध्ये कांग्रेसले पालिका अध्यक्षसहित ५ वडाध्यक्ष जितेको थियो भने एमालेले २ स्थानमा जितेको थियो ।लोकप्रिय मतमा पनि माओवादी पहिलो देखिएको छ । मतपरिणाम अनुसार कांग्रेसले लालीगुराँस ८ बाहेक यसअघि जितेका सबै स्थान गुमाएको छ । उसले यसअघि एमालेले जितेको सुनसरीको गढी–६ मा भने जित निकालेको छ ।यस्तै यसअघि जितेको कन्काई–६ र गढी–६ मा पराजित भएको एमालेले २०७९ को निर्वाचनमा कांग्रेसले जितेको ताप्लेजुङको सिरिजङ्गा–३ र ओखलढुङ्गाको मोलुङ–५ मा भने जित दर्ता गरेको छ । एमालेले अघिल्लो पटक जितेको कन्काई–६ मा भने स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।
उपनिर्वाचनमा माओवादीले ग्रामथान गाउँपालिकाको अध्यक्षसहित उदयपुरको त्रियुगा–१२ र बेलका–९ जितेको छ ।
माओवादीले जितेका तीनै स्थान अघिल्लो निर्वाचनमा कांग्रेसले जितेको थियो । कोशीमा ८ स्थानमा भएको मतदानमा जम्मा २९ हजार ४५४ मत खसेको थियो । सो मतमा पनि माओवादी केन्द्र पहिलो भएको छ ।
मत परिणाम अनुसार माओवादीले ९ हजार ८२२ मत प्राप्त गर्दा कांग्रेसले ८ हजार ६४ र एमालेले ७ हजार ५३० मत पाएको छ । माओवादीले कांग्रेसभन्दा १ हजार ७५८ मत र एमालेभन्दा २ हजार २९२ मत बढी पाएको छ ।
निर्वाचन आयोगको तथ्याङ्क अनुसार राप्रपाले ७२६ र रास्वपाले ९२९ मत ल्याएको छ । अघिल्लो स्थानीय तहको निर्वाचनमा ती स्थानमा माओवादीले जम्मा ४ हजार ५५ मत पाउँदा कांग्रेसले १० हजार ६५१ मत ल्याएको थियो । यस्तै एमालेले ९ हजार ४५१ र राप्रपाले ५०३ मत पाएको थियो । उक्त तथ्याङ्क हेर्दा कांग्रेसको मत २ हजार ५८७ मत र एमालेको १ हजार ९२१ मत घटेको छ ।
राप्रपाले अघिल्लो निर्वाचनको तुलनामा २२३ मत बढाएको छ । रास्वपा भने पहिलो पटक प्रतिस्पर्धामा उत्रिएको थियो । उसले उपनिर्वाचनमा ८ पदमा प्रतिस्पर्धा गरेको थियो । जसमा ९२९ मत ल्याएको छ ।
उपनिर्वाचन भएका ग्रामथान, गढी, त्रियुगा, बेलका, सिरिजङ्गा र लालीगुराँसमा माओवादीको मत बढ्दा कन्काई र मोलुङमा थोरै घटेको छ । ग्रामथान, त्रियुगा, बेलका, मोलुङ, सिरिजङ्गा र लालीगुराँसमा कांग्रेसको मत घट्दा कन्काई र गढीमा बढेको छ ।
यस्तै एमालेको ग्रामथान, कन्काई, सिरिजंगा र लालीगुराँसमा मत घट्दा गढी, बेलका, त्रियुगा र मोलुङमा बढेको छ । माओवादी कोशी प्रदेशका अध्यक्ष हर्कबहादुर नेम्वाङ धेरैका लागि अहिलेको उपनिर्वाचनको परिणाम अनपेक्षित लागे पनि आफूहरूलाई अपेक्षित नै लागेको बताए ।
‘मैले एक महिना अगाडि नै यो रिपोर्ट केन्द्रीय कार्यालयलाई दिएको थिएँ,’ नेम्वाङले भने, ‘१ पालिका अध्यक्ष र ३ वडा जित्ने भनेका थियौँ । तर २ वटा वडामात्रै जितेका छौँ ।’
आफ्नो पार्टीले विभिन्न मत सर्भेक्षण गरेर एक महिना अगाडि नै यो अपेक्षा गरेको उनको दाबी छ । उनले आगामी ०८४ सालको निर्वाचनमा ६४ सालकै हैसियतमा पार्टीलाई पुर्याउन आवश्यक तयारी सुरु गरिसकेको पनि बताए ।
‘हामी काममा लागिसकेका छौँ । ०८४ को चुनावमा हामी ६४ माजस्तै जित निकाल्छौँ,’ नेम्वाङले भने ।
योजनाबद्ध र संगठित रूपमा पार्टीको सिङ्गो पंक्ति परिचालन गरेको कारण नतिजा दिन सफल भएको माओवादी केन्द्रका उपमहासचिव तथा कोशी प्रदेश इञ्चार्ज हरिबोल गजुरेल बताउँछन् । गजुरेल कोशीको इन्चार्ज भएर आएपछि पार्टीका केन्द्रीय सदस्यसम्मका नेतालाई वडाको जिम्मा दिएर खटाएका थिए ।
पछिल्लो चरणमा निर्वाचन हुने पालिका र वडामा पार्टीको टिम केन्द्रीत गरेर एक महिना अगाडिदेखि परिचालन गर्दा नतिजा निस्किएको उनले बताए । ‘अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले गरेको सुशासनको पक्षको कामबारे जनताको बिचमा सही सूचना पुर्याउन सक्यौँ । जसले गर्दा माओवादी विरुद्धको भ्रम चिरियो र २०६४ कै अवस्थामा हामी पुग्यौँ,’ गजुरेलले भने ।
२०६४ मा तत्कालीन कोचिला प्रदेशका इन्चार्ज उनै गजुरेल थिए । त्यसबेला झापा, मोरङ र सुनसरीलाई माओवादीले कोचिला प्रदेश भन्ने गरेको थियो । तीन जिल्लामा संविधान सभाको २२ सिटमध्ये माओवादीले गजुरेलकै नेतृत्वमा १० सिट जितेको थियो । सो निर्वाचनमा एमाले नेता केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रहेका कांग्रेस नेता कृष्णप्रसाद सिटौला, कांग्रेस नेता विश्वप्रकाश शर्मा, एमाले नेता गुरु बरालसहितका नेताहरू माओवादी उम्मेदवारसँग पराजित बनेका थिए ।