देउवाले कोइरालालाई भने – ‘गठबन्धनमा धोका हुन्न’

कांग्रेस नेता शेखर कोइरालाको गतिविधिलाई लिएर असन्तुष्ट भएका पार्टी सभापति शेरबहादुर देउवाले गठबन्धनमा तलमाथि नहुने प्रस्ट पारेका छन् ।बीपी स्मृति दिवसका अवसरमा बीपी सहकारी अस्पतालले आयोजना गरेको कार्यक्रममा एउटै मञ्चमा रहेका कोइरालालाई मंगलबार देउवाले गठनबन्धन विकल्प सोच्ने पक्षमा आफू नरहेको बताएका हुन् । सार्वजनिक रुपमा बोल्दा पनि देउवाले त्यही कुरा दोहोर्याएका थिए ।
‘म अहिले धोका दिने पक्षमा छैन, गठबन्धन परिवर्तन गर्ने पक्षमा छैन,’ देउवाको भनाइ थियो ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र माओवादीका अध्यक्ष पुष्पकमल दाहालसँग राजनीतिक भेटघाट गरेका कोइरालाले दुई दिनअघि मात्रै पार्टीभित्रका आफ्ना समूहका मन्त्री र सांसदहरुको भेला आयोजना गरेका थिए ।
देउवा निकट स्रोतका अनुसार कोइरालाले ओली नेतृत्वको सरकारको एक वर्षमा भ्रष्टाचार व्याप्त भएको, राजनीतिक बेथिति बढेको र राजनीतिक नियुक्तिहरूमा एकलौटी भएको भन्दै विकल्प खोज्न आग्रह गरेका थिए ।