चर्च ब्वाइज युनाइटेड बिर्तामोडस्थित डोमालाल रंगशालामा भइरहेको प्रथम झापा कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।डिफेन्डिङ च्याम्पियन चर्च ब्वाइजले रूपन्देहीको गोर्खा ब्वाइज स्पोर्ट्स क्लबलाई बुधबार ३–० ले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।चर्च ब्वाइजबाट दिपेश गुरुङ, विदेशी खेलाडी आर्मन्ड र डिकाले गोल गरेका थिए । खेलको २९ औं मिनेटमा दिपेशले उत्कृष्ट प्रहारमार्फत चर्चलाई अग्रता दिलाए । गोर्खा ब्वाइजका डिफेन्डरले क्लियर गर्न खोजेको बल नियन्त्रणमा लिएर दिपेशले करिब २५ यार्डको दूरीबाट बललाई पोस्टभित्र पुर्‍याएका थिए ।विदेशी खेलाडी आर्मन्डले ४० औं मिनेटमा समीर तामाङको कर्नर प्रहारमा हेडिङमार्फत गोल गरेर चर्चको अग्रता दोब्बर बनाए । पहिलो हाफको इन्ज्युरी टाइममा कमल श्रेष्ठको फ्रिकिकलाई अर्का विदेशी खेलाडी डिकाले गोलमा परिणत गरेपछि चर्चको जित करिब सुनिश्चित भएको थियो ।अधिकांश समय बल नियन्त्रणमा राखेको चर्च ब्वाइजले थप गोलका केही अवसर भने गुमायो । ३२ औं मिनेटमा समीर तामाङले गरेको हेडर पोस्टको नजिकै बाहिरियो । ४७ औं मिनेटमा विदेशी खेलाडी अबायोमी वान भर्सेस वानको स्थितिमा गोल गर्न चुके । खेलको अतिरिक्त समयमा सनम भुजेलको कडा प्रहार पोलमा ठोक्किएर फर्कियो ।गोर्खा ब्वाइजले केही अवसर पाए पनि सदुपयोग गर्न सकेन । ६५ औं मिनेटमा सुजित बुढाथोकीको लामो प्रहार बाहिरियो भने ८२ औं मिनेटमा विदेशी खेलाडी रिचार्डले गरेको प्रहार पनि फ्रेमभित्र समेटिन सकेन । बल नियन्त्रणमा लिन संघर्ष गरिरहेको गोर्खा ब्वाइजले समन्वय अभाव र कमजोर स्ट्राइकिङका कारण हार बेहोर्नुपरेको थियो ।प्लेयर अफ द म्याच चर्च ब्वाइजका डिका चुनिए । उनले१० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । बिहीबार एनआरटी र चित्लाङ फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

Facebook Comments Box