सन्तोश गिरी , १२ माघ , चुलाचुली ( इलाम )/ दक्षिणी इलामको चुलाचुली रंगमञ्चले माघ १४ र १५ गते गरि दुई दिने नाट्य महोत्सव सञ्चालन गर्ने भएको छ । विशेष गरि बिधालयका बिद्यार्थीहरुलाई लक्षित पारी आयोजना गरिएको यश नाट्य महोत्सव चुलाचुली पाठशाला नाट्य महोत्सवको तेस्रो संस्करण हो । ग्रामिण समुदायमा रहेका विभिन्न अप्ठ्यारा र चुनौतीपूर्ण यात्राको सामना गर्दै २०६९ मा स्थापित यश रंगमञ्चले समाज रुपान्तरणको अभियानमा डेढ दशक लामो समय बिताइसकेको छ । चुनौतीले नै अवसर सिर्जना गर्ने र कलाको नयाँ अवयबहरु उत्पादन गर्न सकिने संस्थाको अध्यक्ष तथा महोत्सवका संयोजक चेतन आङ्थुपो बताउँछन् । उनका अनुसार नाटकको यो फर्म नेपाली रंगमञ्चकै लागि नयाँ संरचना हो । ” सन् २००८ मा आसमको गोलापारा जिल्लाको रामपुर मा बडुङडुप्पा कला केन्द्र को संस्थापक शुक्रचार्य राभाले सुरु गरेको अन्डर द सल ट्रि (सालको रुख मुनि ) रंगमञ्च महोत्सवबाट प्रभावित भएर पर्यावरणीय महोत्सवको अभ्यास सुरु गरेको हो । प्रकृतिक सहअस्तित्वको  सन्देश फैलाउन सालको रुख मुनि नाटक महोत्सवलाई प्रेरणाको स्रोतमा लिएर चुलाचुली रंगमञ्चले नेपालमा पहिलो पटक पर्यावरणीय नाटक महोत्सवको प्रयोग गरिएको हो ।” यश पटक नाटक महोत्सवमा ८ वटा नाटक, २ वटा ओपन पर्फमेन्स, २ वटा प्यानल डिस्कसन, ५ दिने नाट्य कार्यशाला र चित्रकला कार्यशाला रहने आयोजकले जानकारी गराए । जसमा हेटौंडा बाट कलाक्रान्ती समुहको प्रस्तुति नाटक ‘ डार्क स्याडो’ मोरङ बाट सुविजिमुर मेमोरियल बोर्डिङ बाट ‘ उ जुनेली’ र रिलायन्स बोर्डिङ बाट ‘ मौनताको कथा ‘, चुलाचुली बाट बालज्योती मा.बि. को ‘ द रुट ‘, पञ्च बुद्ध एकेडेमीको ‘ कर्मको फल ‘, अमृत बोर्डिङ बाट ‘ द ल्याण्ड अफ मङ्की ‘, जनता मा.बि. बाट ‘ वातावरण ‘ र संस्थाको होम प्रोडक्सन ‘ भुमरी ‘ गरि जम्मा ८ नाटक मञ्चन हुनेछन । त्यस्तै चेतना नाट्य समूह इलामको र कुलुङ भाषा संस्कृति उत्थान संघ, चुलाचुलीको गरि जम्मा २ वटा  ओपन पर्फमेन्स हुनेछ भने शिक्षाको क्षेत्र र नेपाली रंगमञ्च तथा नाटकको बिषयमा गरेर जम्मा २ वटा प्यानल डिस्कसन रहनेछ । बिद्यार्थीहरुको सिकाई प्रणालीलाई थप फराकिलो बनाउन पनि यश नाटक महोत्सवको आयोजना गरिएको संस्थाको सचिब तथा महोत्सवका व्यवस्थापक सन्तोष गिरीले जानकारी गराए । ” बिशेष गरेर बिद्यार्थीहरुको सिकाई प्रणालीलाई चौतर्फी बनाउन र चेतनाको स्तरलाई थप फराकिलो बनाउने उद्देश्यले यश महोत्सवको आयोजना गरिएको हो । हामीलाई लाग्छ,प्रबिधीले गर्दा हाम्रा नानीहरु प्रकृति बाट अलिकति टाढा भएको हो कि ? कला संस्कृति बुझ्न बाट बन्चित पो भइ रहेका छन कि भन्ने मनन गर्दै यश पटक पुन: प्रकृतीको यो सुन्दर थलो,पर्यटकीय स्थल यश जंगल भित्र कार्यक्रमको आयोजना गरिएको हो । यसो गर्नु हाम्रो लागि चुनौतीका साथै रहर र बाध्यता पनि जोडिएका छन । ” उनी थप्छन,” रहर यश अर्थमा थियो कि प्रकृति हाम्रो लागि यति भरिपुर्ण छ जुन हामी सहरको कुनै व्यवस्थित संरचना हरुमा पाउन सक्दैनौ र बाध्यता यश तरिकाले छ कि चुलाचुलीमा नाट्य हलको उपलब्धता छैन । ” २०७६ साल बाट सुरुवात गरिएको पाठशाला नाट्य महोत्सवको दोस्रो संस्करण कोरोना कहर पश्चात् ३ वर्ष पछाडि २०७९ मा गरिएको आङ्थुपो बताउछन् । चुलाचुलीमा बिं.सं २०३४ साल यता देखि नेपाली रंगमञ्चको इतिहास रहेको पाइएता पनि २०६५ सालमा आङ्थुपो द्वारा निर्देशित “परिवर्तन” नामक  पहिलो सडक नाटकबाट चुलाचुलीको भौगोलिक परिवेशमा नाटक क्षेत्रको नयाँ शैली प्रवेश भएको थियो । आफू साहित्यको बिधार्थी भएता पनि समाजलाई थप मनोरञ्जन प्रदान गर्न श्रब्य दृश्य अन्तर्गत नाटक रोजेको बताउछन उनी, “म साहित्यको विधार्थी, मलाई जतिवेला श्रव्य सिर्जनाहरुले समाज प्रति अर्थात् गाउँको परिवेशलाई ध्यान आर्कषण नगरेको होकी जस्तो लागेर मैले समाजलाई सजिलो र थप मनोरञ्जन दिने माध्यम खोजे त्यो माध्यम नै थियो नाटक । मैले नाटक मार्फत समाजलाई हाम्रो कथा अनि कविता सजिलै दृश्य मार्फत बुझाउन सकिने भएकाले नाटक नै रोजे र  यहि काम गर्दै आएको हुँ । ” आङ्थुपो आफू मात्र रंगमञ्चमा रमाएनन उनले सयौं युवा युवतीहरुलाई सपना देखाए अनि रंगमञ्चमा बाँच्न सिकाए । उनले कला मार्फत समाजलाई सधै विकृती र विसङ्गतीको बिरुद्ध सचेत मात्र बनाएनन कुलतमा फसेका युवाहरुलाई सिर्जनशील सम्म बनाउन भ्याए । सुरुवाती समयमा निकै चुनौती र संघर्षपुर्ण यात्रा रहेको बताउछन उनी,” सुरुवाती समयमा यहाको बासिन्दाहरुमा चेतनाको कम बिकास भए झै लाग्थ्यो । मानिसहरुले हामिलाई ” काम नभएको ” र ” बौलाहाहरु” सम्म भन्न भ्याए । तर खुसी लाग्छ आज त्यही भिड नाटकको टिकट काट्न घण्टौ ढोकामा पर्खी रहेका हुन्छन । हामिलाई त्यस बखतको घाम पानीले बेपर्वाह उर्जा दिन्थ्यो । कहिले घरको आँगन त कहिले खेतको बारि अनि कहिले खोलाको बगरमा रमाउथ्यो हाम्रो अभिनयको भुतहरु । घर बाट लुकेर ल्याएको चिउरा र नुन खोर्सानी संग कयौ भोक मेटिन्थ्यो त कहिले भोकको उर्जालाई अभिनयमा परिणत गरेर रमाइथ्यो ।

Facebook Comments Box