चार  नगरपालिकासहित १० वटा स्थानीयतह रहेको इलाम जिल्लाका न्यायिक समितिहरु एकै मञ्चमा संगठित हुँदै विभिन्न गतिविधिमा एकजुट छन् ।

राज्य पुनर्संरचनापछि दोस्रो कार्यकालको निर्वाचन सम्पन्न पश्चात् गठन भएको न्यायिक संजालले सोमबार फाकफोकथुम गाउँपालिका आमचोकमा पाँचौं पटक जिल्ला सम्मेलनको आयोजना गर्दै स्मारिका विमोचन तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । फाकफोकथुम गाउँपालिका न्यायिक समितिको सचिवालयद्वारा प्रकाशित ‘न्यायिक संजाल स्मारिका -२०८२ ‘ जिल्ला समन्वय समिति इलामका प्रमुख जयप्रकाश राईको प्रमुख आतिथ्यतामा विमोचन भएको हो ।

यसै अवसरमा न्यायिक सम्पादनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विभिन्न क्षेत्रका ११ जना व्यक्तित्वलाई सम्मान गरिएको छ ।सम्मानित हुनेमा यस पालिकाका पूर्वकानुनी सल्लाहकार अधिवक्ता सुधिर बोहोरा र प्रदिप अधिकारी रहेका छन् । यसैगरी, पूर्वन्यायिक समिति संयोजक एवं पालिका पूर्वउपाध्यक्ष सरस्वती राई (सरू), समिति सदस्य तथा १ र ४ नम्बर पूर्व वडाध्यक्ष टेकवीर लिम्बू र हरी प्रसाद दंगालीलाई सम्मान गरिएको छ ।

मेलमिलापकर्ताहरु बालकृष्ण भट्टराई, बम बहादुर निरौला, जगतबहादुर लिम्बू, रामकृष्ण घिमिरे, गीता अधिकारी र माई नगरपालिकाबाट गायित्रा देवी रेग्मीलाई सम्मान गरिएको पालिकाका उजुरी प्रशासक एवं न्यायिक संजाल सचिवालय सदस्य विमल घिमिरेले जानकारी दिए । उनका अनुसार दुई सय प्रति स्मारिका प्रकाशन गरिएको र सबै स्थानीयतहमा वितरण गरिएको छ । उक्त स्मारिकामा माईजोगमाई गाउँपालिकाको न्यायिक समितिका पदाधिकारीहरुको विवरण प्राविधिक त्रुटि भइ समावेश हुन नसकेको र आगामी दिनमा सच्याइने उनले जनाए ।

जिल्ला भरको न्याय क्षेत्रको काम कार्वाहीमा एकरुपता ल्याउन र न्यायिक समितिले गरेका अभ्यासका बारेमा छलफल, सहकार्यसँगै समीक्षा गर्न सहज होस् भन्ने उदेश्यले संजालको गठन गरिएको जनाइएको छ । २०७९ सालको स्थानीयतह निर्वाचनपछिका जनप्रतिनिधिहरुले २०८० फागुन १८ र १९ गते सूर्योदय नगरपालिकामा पहिलो पटक न्यायिक सम्मेलन गरेर संजालको गठन गरिएको जनाइएको छ । सबै पालिकाको न्यायिक समितिले गर्ने कार्यसम्पादनमा त्रुटि नहोस् भन्ने अपेक्षासहित हरेक पालिकाले तीन-तीन महिनाको कार्यकालको नेतृत्व गर्ने गरी कार्यविधि बनाएर संजाल संचालन हुँदै आएको समितिले जानकारी दिए ।

दोस्रो कार्यक्रममा इलाम नगरपालिकाले पाँच लाख र अन्य स्थानीयतहले ५० हजारका दरले रकम संकलन गरी इलाम नगरपालिकाको नेतृत्वमा सुरक्षित आवास केन्द्रको कार्यक्रम संचालन गरेको थियो । तेस्रो जिल्ला सम्मेलन सन्दकपुर गाउँपालिकामा २०८१ मंशीर ५ र ६ गते सबै स्थानीयतहका न्यायिक समिति र पाँच-पाँच जना मेलमिलापकर्ताहरुको सहभागीतामा १३ बुँधे घोषणापत्र जारीसँगै सन्दकपुर डाँडामा भ्रमण गराउँदै सम्पन्न गरेको थियो । माई नगरपालिकाले २०८१ चैत २ गते चौथो कार्यक्रमको आयोजना गर्दै हरेक पालिकाका दुई-दुई जना र माई नगरपालिकाबाट छ जना गरी २४ जना मेलमिलापकर्तालाई नगद दुई हजार रुपैयाँ र प्रमाणपत्र प्रदानसहित सम्मान गरेको थियो  । यस पटक न्यायिक संजाल इलामकी वर्तमान अध्यक्ष फाकफोकथुम गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक कल्पना राईको अध्यक्षतामा पाँचौ सम्मेलन सम्पन्न गरेसँगै आगामी असार २ गतेदेखि चुलाचुली गाउँपालिकालाई नेतृत्व हस्तान्तरणसहित छैटौं सम्मेलनको जिम्मेवारी सुम्पिने निर्णय गरिएको छ । फाकफोकथुम गाउँपालिका न्यायिक समिति सदस्य सिद्धमान आलेले स्वागत मन्तव्य राखेको कार्यक्रम माङ्सेबुङ गाउँपालिकाबाट भने सहभागीता नरहेको आयोजक पालिकाका समिति सदस्य घिमिरेले बताए । आयोजक पालिकामा ५८ जना मेलमिलापकर्ता रहेको र यस आर्थिक वर्षमा हालसम्म ११ वटा उजुरी दर्ता भएको जनाइएको छ ।  आठ वटा मेलमिलाप भइ तीन वटा प्रकृयामा रहेको उनले बताए ।

कार्यक्रममा विशेष अतिथि फाकफोकथुम गाउँपालिका अध्यक्ष दिपेन्द्र खनाल, उच्च अदालत वार एसोसिएसन इलामका उपाध्यक्ष लोकबहादुर तामाङ र अधिवक्ता सुधिर बोहोराले सम्मानित व्यक्तित्वहरुलाई बधाई तथा शुभकामना दिए । सुर्योदय, इलाम, माई र देउमाई नगरपालिका न्यायिक समिति संयोजक क्रमशः दुर्गा कुमार बराल, बिष्णु कुमारी लिम्बू दहाल, हिमा भण्डारी र पविमाया राई साथै रोङ, माइजोगमाई, चुलाचुली र सन्दकपुर गाउँपालिका न्यायिक संयोजक विष्णुमाया खवास, प्रविना राई, दिलकुमारी लिम्बू योङ्हाङ र हरिबहादुर लुङ्गेलीले न्यायिक गतिविधिहरुको समीक्ष र जानकारी गराउँदै  मन्तव्य राखेका थिए ।कार्यक्रममा सम्मानित व्यक्ति साथै पार्टी प्रतिनिधिहरुले पनि आफ्नो भनाइ राखेका थिए । न्यायिक संजालको स्मारिकामा जिल्ला भरका सबै स्थानीयतहका  उजुरी र मेलमिलाप गराइएका डाटासहित तथ्याङ्क आगामी दिनमा समावेश गर्न अतिथिहरुले सुझाव दिए । सम्मेलनमा मानव अधिकार मञ्च नेपाल, इलामका कर्मचारी मनकुमार बराइली, पालिकाका जनप्रतिनिधि, पार्टी प्रतिनिधि, मेलमिलापकर्ता, कार्यपालिका सदस्यलगायतको उपस्थिति थियो । समापनमा अतिथिहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।

Facebook Comments Box