उर्लाबारी मा अत्याधुनिक बसपार्क बन्दै

मोरङ को उर्लाबारी नगरपालिका वडा नं. ६ मा अबको केही समयपछि एक अत्याधुनिक बसपार्कको निर्माण हुने भएको छ । भविष्यको यातायात पूर्वाधारलाई ध्यानमा राख्दै निर्माण हुन लागेको यो बसपार्क १८ महिनाभित्र पूर्णरूपमा सम्पन्न गरिने लक्ष्य लिइएको छ।
परियोजनाको निर्माण कार्यका लागि आज औपचारिक सम्झौता भएको छ। झण्डै ११ करोड ३ लाख ८५ हजार ८ सय ८० रुपैयाँ २५ पैसाको लागतमा निर्माण हुने सो बसपार्कको जिम्मा अभी डिजाइनर्स एण्ड डेभलपर्स प्रा.लि., हेटौंडा लाई दिइएको हो।
उर्लाबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अभय कुमार गुप्ता र निर्माण व्यवसायी नविन गौतमबीच आज सम्झौतामा हस्ताक्षर भएको छ।
परियोजनाको लागत संरचना पनि विशेष छ—३० प्रतिशत उर्लाबारी नगरपालिकाको लगानी, १० प्रतिशत अनुदान स्वरूप नगर विकास कोषबाट, र ६० प्रतिशत नगर विकास कोषको ऋण मार्फत वित्तीय संरचना तय गरिएको छ।
सम्झौता कार्यक्रममा नगर प्रमुख गंगा प्रसाद खरेल, उपप्रमुख मीना कुमारी खतिवडा, इञ्जिनियर पोखराज साह, इञ्जिनियर रोशन उदास, योजना तथा अनुगमन शाखाका प्रमुख विकाश दाहाललगायत जनप्रतिनिधिहरूको उपस्थिति थियो।
इञ्जिनियर दाहालका अनुसार, “यो परियोजना सम्पन्न भएपछि उर्लाबारीको यातायात व्यवस्थापन अझ व्यवस्थित हुनेछ, साथै यसले नगरको व्यापार, पर्यटन तथा रोजगारी प्रवर्द्धनमा पनि महत्वपूर्ण योगदान दिनेछ।” नयाँनयाँ खबर बाट साभार