सबिन राई

ईलाम टाइम्स चुलाचुली। चुलाचुली गाउँ पालिका कृषि शाखा मातहतबाट स्थानिय कृषकहरूलाई वितरण गरिने नेपाल सरकारको अनुदान रहेको कृषि मल (युरिया) बितरणमा मूल्य निर्धारणमा मनपरी गरेको पाईएको छ।

शाखाले चुलाचुलीको ६ वटा वडामा मल बितरणको लागि ४ वटा कृषि सहकारी संस्थाहरूलाई आधिकारिक वितरक तोकेको छ। जस अन्तर्गत वडा नं. १ को लागि जनचेतना कृषि सहकारी संस्था लिमिटेड, वडा नं. २ को लागि सानाकिसान कृषि सहकारी संस्था लिमिटेड, वडा नं. ३,४ र ५ को लागि चुलाचुली कृषि सहकारी संस्था लिमिटेड र वडा नं. ६ को लागि तोरीबारी कृषि सहकारी संस्था लिमिटेडले उक्त अख्तियारी पाएका हुन्।

सोही अनुसार आफ्नो तोकिएको वडाहरूमा सहकारीहरूले युरिया मल वितरण कार्य सम्पन्न गरिसकेका छन्।

तर नेपाल सरकारबाट अनुदान प्राप्त युरिया मलमा चुलाचुलीका सहकारी संस्थाहरूले तोकिएको दर साथै नेपाल सरकारको निर्देशिका र पालिकासंग गरिएको मूल्य निर्धारण सम्बन्धी सम्झौता विपरित उच्च दरमा मल बिक्रि गरेको पाईएको छ।

अहिलेको प्रचलित दर अनुसार कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय बिर्तामोडबाट प्रति बोरा रू ८०४ ले खरिद गरेको मल चुलाचुलीमा न्युनत्तम प्रति बोरा रु १००० देखि अधिक्तम रू १२५० सम्म बिक्रि गरेको पाईएको छ।

नेपाल सरकारको अनुदानको कृषि मल वितरण निर्देशिका २०७७ र चुलाचुली गाउँ पालिकाको कृषि मल मूल्य निर्धारण समिति र कृषि सहकारीहरू बिच भएको सहमति पत्रमा मल लोड अनलोड तथा ढुवानी बापत रू १.२५ पैसा र नाफा बापत रू १ गरी जम्मा रू २.२५ मात्र थप गर्न पाईने उल्लेख छ। तर उक्त सहमति बिपरित यहाँका सहकारीहरूले मनोमानी ढंगले आफू खुशी मूल्य तोकेर वितरण गरेका छन्।

उल्लेखित शर्त अनुसार चुलाचुलीका कृषि सहकारीहरूले अनुदानको कृषि मल वितरण गर्दा प्रति बोरा नाफा सहित अधिक्तम रू ९५४ मा वितरण गर्नु पर्ने देखिन्छ।

तर यहाँ चुलाचुली १ को जनचेतना कृषि सहकारी संस्था लिमिटेडले प्रति बोरा रू १२५० बितरण गरेको छ भने वडा नं.२ को साना किसान कृषि सहकारी संस्था लिमिटेडले प्रति बोरा रू १००० त्यसै गरी वडा नं. ३ को चुलाचुली कृषि सहकारी संस्थाले ३,४ र ५ मा प्रति बोरा रू १२०० को दरले बितरण गरेको छ। वडा नं. ६ को तोरिबारी कृषि सहकारी संस्थाले भने प्रति बोरा रू १००० ले बितरण गरेको छ।

चुलाचुली गाउँ पालिकामा उपाध्यक्ष संयोजक रहने गरी कृषि शाखा प्रमुख, चुलाचुली गाउँ पालिकाका प्रशासकिय अधिकृत सहितको टोलि कृषि मल मूल्य निर्धारण समिति छ। यो सम्वातदातासंग कुरा गर्दै पालिका उपाध्यक्ष दिलु लावती तथा शाखा प्रमुख अनिल कुमार तिमिल्सिनाले यो विषयको मौखिक गुनासाहरू आएको कुरा बताएका छन्। यस विषयमा सहकारीहरूसंग बसेर कुरा गर्ने जानकारी दिएका छन्।  यदि गलत गरेको प्रमाणित भएमा कारवाहि गर्ने कुरा पनि बताएका छन्।

ऐनले के भन्छ?
नेपाल सरकारको अनुदान प्राप्त कृषि मल वितरण गर्दा कृषि मल वितरण निर्देशिका २०७७ अनुसार रहेर काम गर्नुपर्ने हुन्छ। कुनै पनि कृषि सहकारी तथा वितरकहरूले उल्लेखित निर्देशिका विपरित कार्य गरेको पाइएमा पालिकामा गठित मूल्य निर्धारण समिति मार्फत बढि लिइएको रकम फिर्ता गराउनुको साथै भविष्यमा उक्त कार्य गर्न नपाउने गरी डिलरशिप खारेज गरि कारवाही गर्न सक्ने कुरा उल्लेख छ।

कार्यपालिका सदस्य नै सहकारीको अध्यक्ष,
चुलाचुली गाउँ पालिकाले अनुदानको कृषि मल वितरण गर्न अख्तियारी दिएको सहकारी संस्थाहरू मध्ये चुलाचुली कृषि सहकारी संस्था लिमिटेडको अध्यक्ष नरेन्द्र कुमार बान्तावा (नक्कू) चुलाचुली गाउँ पालिकाको वर्तमान मनोनित कार्यपालिका सदस्य समेत हुन्।

Facebook Comments Box