संघर्ष र श्रम बाट राष्ट्रिय राजनीतिसम्मको यात्रामा दिवस राई
इलाम क्षेत्र नं. २ बाट राष्ट्रिय परिवर्तन उज्यालाे पार्टीका प्रतिनिधि सभा सदस्यका साझा उम्मेद्वार दिवस राई ग्रामीण जीवनको यथार्थबाट हुर्किएर राष्ट्रिय राजनीतिमा प्रवेश गरेका एक अनुभवी र जिम्मेवार राजनीतिक व्यक्तित्व हुन्। उनको जीवन यात्रा श्रम, संघर्ष र सेवाको संगमका रूपमा देखिन्छ, जसले उनलाई आम नागरिकका पीडा र अपेक्षासँग नजिक राखेको छ।
राईको जन्म वि.सं. २०४५ साल असार २४ गते इलाम जिल्ला, माङसेबुङ गाउँपालिका वडा नं. ६ मा भएको हो। ग्रामीण परिवेशमा हुर्कँदै उनले सानै उमेरदेखि समाजको वास्तविक अवस्था, श्रमको महत्व र संघर्षको अर्थ बुझ्ने अवसर पाए। खेतीपाती र सामुदायिक जीवनसँग जोडिएको बाल्यकालले उनलाई आत्मनिर्भरता, इमान्दारिता र सामूहिक जिम्मेवारीको मूल्य सिकायो।
देशको बदलिँदो आर्थिक र सामाजिक परिस्थितिका कारण रोजगारीको खोजीमा उनी मलेसिया र साउदी अरबसम्म पुगे। वैदेशिक रोजगारीका वर्षहरू उनका लागि केवल जीविकोपार्जनका दिन मात्र रहेनन्, ती वर्षहरूले नेपाली श्रमिकले भोग्ने पीडा, असुरक्षा र अधिकारको अभावलाई नजिकबाट बुझ्ने अवसर प्रदान गरे। यही अनुभवले आफ्नै देश र समाजप्रतिको जिम्मेवारीबोधलाई अझ गहिरो बनायो।
स्वदेश फर्किएपछि राई जनताको विश्वास सहित माङसेबुङ गाउँपालिका वडा नं. ६ का वडा सदस्यका रूपमा निर्वाचित भए। स्थानीय तहमा जनप्रतिनिधिका रूपमा रहँदा उनले विकास, सुशासन र जनसेवालाई प्राथमिकतामा राख्दै काम गरे। जनताको समस्या सुन्ने, समाधान खोज्ने र स्थानीय आवश्यकता अनुसार पहल गर्ने उनको कार्यशैलीले उनलाई भरोसा योग्य जनप्रतिनिधिको रूपमा स्थापित गर्यो।
यसै क्रममा उनी माङसेबुङ गाउँपालिकाको न्यायिक समितिको सदस्यसमेत बने। न्यायिक समितिमा रहेर उनले स्थानीय स्तरमा उत्पन्न विवाद समाधान, मेलमिलाप र न्यायमा पहुँच सहज बनाउने कार्यमा सक्रिय भूमिका निर्वाह गरे। साना–ठूला सामाजिक विवादलाई संवाद र कानुनी प्रक्रियामार्फत समाधान गर्ने प्रयासले स्थानीय समाजमा शान्ति र विश्वास कायम गर्न योगदान पुर्याएका राईले स्थानीय तहमा सेवा गर्दा प्राप्त अनुभव, जनताप्रतिको उत्तरदायित्व र राष्ट्रप्रेमको भावनाबाट प्रेरित भई आज इलाम क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यका उम्मेद्वार बनेका छन्।
राष्ट्रिय परिवर्तन पार्टीमार्फत उनी इमान्दारिताका साथ देशको सेवा गर्ने संकल्पका साथ चुनावी मैदानमा उत्रिएका हुन्।
उनको उम्मेदवारी व्यक्तिगत महत्वाकांक्षा भन्दा पनि ग्रामीण भेगका समस्या राष्ट्रिय संसदमा उठाउने, श्रमिक, किसान, युवा र वैदेशिक रोजगारीबाट फर्किएका नागरिकका आवाजलाई नीतिगत तहमा पुर्याउने उद्देश्यसँग जोडिएको छ। स्थानीय अनुभवलाई राष्ट्रिय नीतिमा रूपान्तरण गर्ने सोच सहित उनी परिवर्तनको पक्षमा उभिएका छन्।
ग्रामीण जीवन, वैदेशिक श्रम र स्थानीय शासनको अनुभव बोकेका राई इलाम क्षेत्र नं. २ का मतदातामाझ व्यवहारिक, अनुभवी र जनजीवनसँग नजिक उम्मेद्वारका रूपमा परिचित छन् भन्न सकिन्छ। उनको राजनीतिक यात्राले स्थानीय तहबाटै राष्ट्र निर्माण सम्भव छ भन्ने सन्देश दिन खोजेको देखिन्छ।
