मुद्दाबारे सञ्चारमाध्यम वा सामाजिक सञ्जालमा अभिव्यक्ति दिन सन्दीपलाई रोक
आफूविरुद्ध लागेको बलात्कार मुद्दाको विषयमा सञ्चारमाध्यम र सामाजिक सञ्जालमा अभिव्यक्ति दिन क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले रोक लगाएको छ । लामिछानेलाई बलात्कार अभियोगमा थुनामा राखेर मुद्दाको किनारा लगाउन काठमाडौं जिल्ला अदालतले दिएको आदेश बदर गर्दै उच्च अदालत पाटनले सर्तसहित २० लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
बिहीबार उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको इजलासले लामिछानेलाई सर्तसहित रिहाइ गर्न आदेश दिएको हो । आदेशमा भनिएको छ, ‘मुद्दाका वादी वा परिवारका सदस्य तथा मुद्दाका सन्दर्भमा सञ्चारमाध्यम र सामाजिक सञ्जालमा कुनै विचार, टिप्पणी वा धारणा व्यक्त गर्न रोक लगाइएको छ ।’
लामिछानेलाई विदेश जान रोकेको अदालतले राज्यलाई उनको पासपोर्ट रोक्का गर्न पनि आदेश दिएको छ । त्यस्तै, काठमाडौं उपत्यका बाहिर जानुपरेमा उपत्यका प्रहरी वृत्त गौशालालाई पूर्वजानकारी दिन पनि आदेशमा भनिएको छ ।
उनी गत भदौ २० गते नाबालिग बलात्कारको अभियोगमा पक्राउ परेका थिए ।
