वन तस्करीमा संलग्न दुई जना कारागार चलान
वन तस्करीमा संलग्न वन समूहका अध्यक्ष सहित दुई जनालाई पुर्पक्षका लागि थुनामा पठाउने अदालतले आदेश दिएको छ । जिल्ला अदालत इलामको आदेश अनुसार दक्षिणी इलामको माई नगरपालिका ८ स्थित शिवसतासी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष हेम बहादुर थापा र उक्त समूहका कार्यालय सचिव केदार बहादुर भट्टराई कारागार चलान भएका हुन् ।
डिभिजन वन कार्यालय इलामका सहायक वन अधिकृत राजकुमार खत्रीका अनुसार जिल्ला अदालत इलामको गत भदौ २९ को आदेश अनुसार माई नगरपालिका ८ का वडा सदस्य राज कुमार राई सहित पाँच जना धरौटीमा रिहा भएका छन् । राई र शिवसतासी वन समूहका सदस्य बद्री थापा जनही दुई लाख धरौटीमा रिहा भएका छन् ।
समूहकै सदस्य शेर बहादुर बुढाथोकीलाई ५० हजार धरौटीमा छाड्ने आदेश अदालतले दिएको छ । यस्तै वन तस्करीमा संलग्न ट्याक्टर चालक पदम बहादुर तामाङ. र आरा काट्ने सुमन राईलाई जनही १० /१० हजार धरौटीमा थुनामुक्त गर्ने आदेश दिएको छ ।
वन तस्करीका मुख्य योजनाकार वन समूहका उपाध्यक्ष खेम कुमार बुढाथोकी र इलाम चुलाचुली २ का धन बहादुर राई भने फरार रहेका छन् ।
वन समूह भित्रको १७ वटा काँचो सखुवा अनियमित रुपमा रुख काटेर बिक्री गरेको पाइएपछि डिभिजन वन कार्यालयले उक्त वन समूहका पदाधिकारी सहित नौ जना विरुद्ध जिल्ला अदालत इलाममा मुद्दा दायर गरेको थियो । समूहका पदाधिकारीको मिलेमतोमा समूहको एक हजार आठ सय ८७ क्युविक फिट काठ चिरान गरिएकोले १८ लाख ८७ हजारको बिगो माग दाबी गरिएको छ । डिभिजन वनले पक्राउ परेका वन समूहका पदाधिकारी सहित नौ जना विरुद्ध गत भदौ १८ मा जिल्ला अदालत इलाममा मुद्दा दायर गरेको थियो ।
इलामको चुरे क्षेत्रमा रहेको शिवसतासी सामुदायिक वनका उपभोक्ता समूहका सदस्यहरु झापाको झिलझिले क्षेत्रका रहेका छन् । वन क्षेत्र इलाममा उपभोक्ता झापाका रहेकोले पनि यो वन संरक्षणमा चुनौती देखिएको छ ।रेडियो नेपाल बाट साभार
