कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले प्रदेशसभामा राजीनामाको घोषणा गरेका छन् । उनले सबै राजनीतिक दलसँग सहकार्यका लागि राजीनामा गर्न लागेको जानकारी दिएका हुन् ।राजीनामा घोषणा गर्नुअघि मुख्यमन्त्री कार्कीले प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूले आ-आफ्ना दलीय आग्रह नछोडेमा जनचाहनाविपरीत मध्यावधि निर्वाचनमा जानुपर्ने बताएका छन् । प्रदेश संरचनाविरुद्धमा आवाज उठिरहेको अवस्थामा राजनीतिक दलहरूले सचेत भएर अगाडि बढ्नुपर्ने उनको भनाइ थियो ।

राजीनामाबारे उनले भने, ‘मैले आज विश्वासको मत लिनुअघि प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीको पदबाट राजीनामा बुझाउने निर्णय गरेको छु । त्यही निर्णय तपाईंहरूसमक्ष सुनाउनका लागि उभिएको छु ।’

प्रदेशसभामा विश्वासको मत माग्ने प्रस्ताव राख्दै मुख्यमन्त्री कार्कीले राजनीतिक दलहरू मिलेर गएनन् भने मध्यावधि अवश्यम्भावी रहेको बताए । आर्थिक, सामाजिक र राजनीतिक कुनै पनि अवस्थाले कोशी प्रदेशसभाको मध्यावधि निर्वाचनको माग नगरिरहेको पनि उनको भनाइ थियो । उनले प्रदेशसभामा रहेका राजनीतिक दलहरूले केन्द्रको आदेश कुर्दा समस्या भएकाले प्रदेश संरचनामा नै रहेका नेताहरूले निर्णय लिनुपर्ने बताए ।

Facebook Comments Box