फाकफोकथुम खेलकुद विकास समितिले आयोजना गरेको शुभ दीपावली कप फुटबल प्रतियोगिताको उपाधि चुलाचुलीको फुङनाम स्पोर्टिङ क्लब चुमेको छ ।

जनकल्याण माविको खेलमैदानमा शनिबार भएको फाइनल खेलमा स्थानीय कोलबोटे एफसीलाई टाइब्रेकरमा ४-२ गोलअन्तरले पराजित गर्दै चुलाचुलीले उपाधि चुमेको हो ।

निर्धारित समयमा दुवै टोलीले १-१ गोलको बराबरी खेलेका थिए । सुरुवाती अग्रता कोलबोटेका रोशन आङ्देम्बेको गोलबाट भएको थियो । तर, गोलको खुसी साट्न नपाउँदै चुलाचुलीका राजेन्द्र मगरले बराबरी गोल गरे ।

फाइनल खेलको म्यान अफ दी म्याच चुलाचुलीका राजेन्द्र मगर घोषित भए । चुलाचुलीकै कप्तान दिवस श्रेष्ठ उत्कृष्ट खेलाडी बन्दा उत्कृष्ट गोलरक्षक रुविन राई घोषित भए ।

सर्वाधिक गोलकर्ता कोलबोटेका शुकराज राई भए । उनले ४ गोल गरेका थिए । उनीहरुले जनही २-२ हजार नगद पुरस्कार र ट्रफी पाए ।

विजेता चुलाचुलीले नगद १ लाख २५ हजार र ट्रफी पायो भने उपविजेता कोलबोटेले ६५ हजारमा चित्त बुझायो । आयोजक समितिका अध्यक्ष पदम लिम्बू, कार्यक्रम संयोजक युवराज लिम्बू, फाकफोकथुम गाउँपालिका अध्यक्ष दिपेन्द्र खनाल, उपप्रमुख कल्पना राई, स्पोर्टिङ इलाम डी मेचीका अध्यक्ष सुहाङ नेम्बाङलगायतले पुरस्कार वितरण गरेका थिए ।समाचार श्रोत गोल नेपाल डट कम

Facebook Comments Box