नेपालमा गरिएका पछिल्ला अध्ययनले मृत्युका कारणमा यस्ता रोगको प्रतिशत बढिरहेको देखाएकाले यो चिन्ताको विषय भएको उनीहरूको भनाइ छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुखले नेपालको यस्तो अवस्थालाई “सुषुप्त महामारी” भनेका छन्।

जनस्वास्थ्यविद्का बुझाइमा नसर्ने रोगको प्रकोप बढ्नुमा मानिसहरूको जीवनशैलीका साथै “रोकथामको साटो उपचारमा केन्द्रित हुने सरकारी नीति” जिम्मेवार छन्।

नेपालमा नसर्ने रोगका कारण हुने मृत्युको नियमित रूपमा नै विवरण सङ्कलन हुने गरेको स्वास्थ्य सेवा विभागका अधिकारीहरू बताउँछन्।

तर त्यस्तो विवरणलाई पूर्ण मान्न नसकिने उनीहरूकै भनाइ छ।

मानिसहरू शोकमा रहेको अवस्थामा कैयौँ त्यस्ता मृत्युको विवरण सरकारी निकायसम्म नआउने गरेको उनीहरूको अनुभव छ।

कतिपय अवस्थामा स्वास्थ्य स्वयंसेविकाहरूले पनि थाहा नपाउन सही विवरण नआउने सम्बद्ध अधिकारीहरूले बताए।

त्यसकारण नसर्ने रोगबारे गरिएका पछिल्ला अध्ययनहरूलाई आधार मानेर आवश्यक नीतिहरू बनाइने गरेको बताइन्छ।

विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र स्वास्थ्य अनुसन्धान परिषद्‌ले गरेको सन् २०१९ मा गरेको र त्यसको अर्को वर्ष प्रकाशित एउटा अध्ययनले नेपालमा ७१ प्रतिशत मृत्युको कारण नसर्ने रोगलाई देखाएको छ।

त्यसअघि दातृ निकायकै सहयोगमा सन् २०१७ मा गरिएको त्यस्तै अध्ययनले त्यस्तो प्रतिशत ६६ रहेको देखाएको थियो।

Facebook Comments Box